आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

नेकपा एमालेलाई जनताको व्यापक समर्थन छ : उपमहासचिव गुरुङ

    प्रकाशित २०७९ चैत्र २८, मंगलबार (१ साल अघि)


देवचुली। नेकपा एमालेलाई जनताको व्यापक समर्थन रहेको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ ।नवलपुरको देवचुली नगर कमिटीको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशी विदेशी शक्तिहरु लागेर नेकपा एमाले सिध्याउन खोजेतापनि जनताको साथले गर्दा उनीहरुको सपना पूरा हुन नपाएको बताउनुभयो ।


‘गत मंसिरमा भएको प्रतिनिधि सभाको चुनावमा काँग्रेस माओवादी लगायतको गठबन्धनले एमालेलाई ९ सिटमा झार्ने र समानुपातिक सहित १५/२० सिट मात्र पुर्‍याउने सपना देखेकोमा जनताका समर्थनले समानुपातिकमा पहिलो दल बन्दै ७९ सिट जित्न सफल भएका छौं ‘ उहाँले भन्नुभयो । नेकपा एमाले असंलग्न परराष्ट्र नितीमा अडिएको मुलकको एउटा मात्रै पार्टी भएको समेत उहाँले बताउनुभयो ।

पार्टीमा असल परम्परा भत्किएकाले पार्टीलाई दुरुस्त राखी जनताको भावना बुझ्दै काम गर्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।पार्टीभित्र देखिएको अनुशासनहिन कुराहरु अराजक व्यक्तिहरु, पार्टी भित्र रहेका व्यक्तिवादी चिन्तनहरुको अन्त्य गर्नका लागि अभियान देशभर नै संचालन गरिएको उहाँले बताउनु भयो। ‘व्यक्ती भन्दा निती ठूलो हो, हामी पार्टीको सिद्धान्त अनुसार अघि बढ्नुपर्छ, नत्र पार्टी कमजोर हुन्छ ।’ उपमहासचिव गुरुङले भन्नुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तिलक महतले पार्टीलाई एक ढिक्का बनाएर जनताको भावना अनुसार काम गर्न अनुरोध गर्नुभयो। उहाँले पार्टीलाई मझबुत बनाउन सिद्धान्तमा दृढ भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

ग्रास रुट अभियानका अभियन्ता तथा नेकपा एमालेका केन्द्रिय सदस्य जमिन्द्रमान घले,गण्डकी प्रदेश सचिवालय सदस्य तथा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने,एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे लगायतले आफ्नो भनाई राखेका थिए। देवचुली भएको कार्यक्रममा वाईसीएल जिल्ला सचिवालय सदस्य चिरञ्जीवी पाण्डे र वाईसीएल नगर सदस्य शंकर काफ्लेले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । उनीहरूलाई उपमहासचिव सहित नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।कार्यक्रममा पार्टीका लामो समयदेखि योगदान गरेका ज्येष्ठ कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो।

मिसन ग्रास रुट अभियान अन्तर्गत भएको भेला देवचुली नगर कमिटी अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता तथा सचिव डिलाराम पाण्डेको संचालनमा भएको थियो ।देवचुलीमा भएको भेलामा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

Write your Comment