आज:  २०८२ मंसिर १६, मंगलबार | Tue, 02, Dec, 2025 Search
FLASH NEWS

देवचुलीमा प्राविधिकहरुलाई खानेपानी तथा जलवायु उत्थानशील योजनाको डिजाइन सम्बन्धी तालिम सम्पन्न

    प्रकाशित २०८२ मंसिर १६, मंगलबार (३७ मिनेट अघि)


देवचुली । देवचुली नगरपालिकामा प्राविधिकहरुलाई खानेपानी तथा जलवायु उत्थानशील योजनाको डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको आयोजनामा कृश होटल दलदलेमा चार दिन प्राविधिकहरुलाई तालिम प्रदान गरिएको हो । नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वास नमुना गाउँ परियोजनाका संयोजक प्रवीण घिमिरेले जानकारी दिनुभयो ।

तालिमलाई इन्जिनियर दिपेन्द्र घिमिरेले सहजीकरण गर्नुभएको थियो । पहिलो दिन सहभागीहरूलाई खानेपानी तथा सरसफाईसम्बन्धी प्रचलित ऐन, नियमावली र नीतिगत ढाँचाबारे जानकारी दिइएको थियो । योजनाको तयारी, अनुमोदन र कार्यान्वयनका क्रममा कानुनी आधार कसरी पालना गर्ने भन्ने विषयमा विस्तृत प्रस्तुति हुँदै व्यवहारिक छलफल गरिएको थियो । दोस्रो र तेस्रो दिन सहभागी प्राविधिकहरूले खानेपानीको गुणस्तर परीक्षण, सम्भावित प्रदूषण जोखिम, सुरक्षित वितरण प्रणाली र जलवायु परिवर्तनका चुनौतीलाई मध्यनजर गर्दै ‘जलवायु उत्थानशील’ खानेपानी योजना कसरी डिजाइन गर्ने भन्ने सीप सिकाइएको हो । बदलिँदो वर्षा चक्र, जलस्रोत सुक्दै जाने अवस्था तथा प्राकृतिक विपद्‌का जोखिमलाई सम्बोधन गर्ने संरचना निर्माणका उपायहरूबारे पनि प्राविधिक प्रशिक्षण प्रदान गरिएको थियो।

चौथो दिन खानेपानी योजनामा प्रयोग हुने पाइप, फिटिङ, भल्भ, ट्यांकी र अन्य सामग्रीको गुणस्तर छुट्याउने तरिका तथा निर्माणस्थलमा अनुगमन गर्दा अपनाउनुपर्ने प्राविधिक मापदण्डबारे प्रस्तुति दिइएको थियो । योजनाको दीगो परिणाम सामग्रीको गुणस्तरमा निर्भर हुने भएकाले प्राविधिकहरूले अनुगमन र गुणस्तर जाँचमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । देवचुली नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर विजय राज न्यौपानेले जलवायु परिवर्तनले जलस्रोत, पानी उपलब्धता र पूर्वाधारमा पारिरहेको प्रभावका तथ्य प्रस्तुत गर्दै भविष्यमुखी, सुरक्षित र जलवायु–मैत्री खानेपानी योजना निर्माणका उपायबारे विस्तृत प्राविधिक मार्गदर्शन दिनुभएको थियो ।

मंसिर १२ गतेदेखि १५ गतेसम्म संचालन गरिएको तालिमले नगरका प्राविधिकहरूलाई खानेपानी परियोजनाको अध्ययन, डिजाइन, निर्माण तथा अनुगमन प्रक्रियामा सहज हुने अपेक्षा गरिएको छ। वास नमुना गाउँ परियोजनाले आगामी दिनमा पनि नगरको प्राविधिक क्षमता सुदृढीकरण र जलवायु उत्थानशील खानेपानी पूर्वाधार विकासमा निरन्तर सहकार्य गर्दै जाने जनाएको छ।

Write your Comment