आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा स्वास्थ्य प्रवर्द्धनका लागि जिवनशैली परिवर्तन तथा योग शिविर सम्पन्न

    प्रकाशित २०७९ चैत्र २५, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य प्रवर्द्धनका लागि जिवनशैली परिवर्तन तथा योग शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपुरको आयोजनामा देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा बिहिबार र शुक्रबार उक्त कार्यक्रम गरिएको हो । दुई दिनसम्म संचालन भएको कार्यक्रममा सहभागीहरुलाई विषादीको प्रयोग कम गरि स्वास्थ्यबर्द्धक खानेकुरामा जोड दिन,आयुर्वेदिक औषधी सेवाको बारेमा जानकारी दिन तथा योगबाट जीवनशैली परिवर्तन गर्न सचेत गराउनका लागि आयोजना गरिएको आयोजकले जनाएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपुरका प्रमुख डा. सुजता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर,कार्यपालिका सदस्य मधुमाया गुरुङ,कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोइराला ,नगर आयुर्वेद शाखा देवचुलीका प्रमुख कृष्ण शर्मालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उदघाटनमा बोल्दै देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटाले योग मानव जीवनको अभिन्न अङ्गको रूपमा रहदै आएको बताउनुभयो। मानव शरीरलाई स्वस्थ र निरोगी बनाउन योगाभ्यास अपरिहार्य रहेको उहाँको भनाइ थियो।कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले मानिसको संस्कार र चरीत्र निर्माणमा योग साधनाले विशेष भुमिका खेल्ने बताउँदै जथाभावी खानपिनलाई नियन्त्रण गरे जीवनमा चमत्कारिक परिवर्तन पाईने भनाई राख्नुभएको थियो।

देवचुली नगरपालिका ९ र १० बाट ३५ जनाको सहभागिता सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपुरका गोकुल पराजुलीले गर्नुभएको थियो।

Write your Comment