आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई

    प्रकाशित २०७९ चैत्र १५, बुधबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। मंगलबार देवचुली नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ को सार्वजनिक सुनुवाई भएको हो । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको देवचुली गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०७९/०८० को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्वन्धमा कार्यक्रम गरेको हो ।देवचुली नगरपालिकाले आयोजना गरेको कार्यक्रमको संयोजन देवचुली मिडिया प्रालिले गरेको थियो ।


सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जवाफ दिएका थिए ।

१ दर्जन प्रश्नकर्ताले गरेका सवालको जवाफ दिने क्रममा नगर प्रमुख न्यौपानेले चरम आर्थिक संकटको चपेटामा मुलुक फसिरहेको भन्ने कुराको पुष्टि केन्द्र सरकारले स्थानीय तहलाई दिने भनेको राजश्व वाडफाँटतर्फका वजेट काटिनुले पुष्टि गरेको बताए ।उपप्रमुख तिवारीले योजनामा परेर सम्पन्न भएका कामको भुक्तानी गर्न बाँकी रहेका सन्दर्भमा नगरपालिकाले जहाँवाट जसरी भए पनि भुक्तानी गर्ने प्रतिवद्धता गरिन् । आर्थिक अभावकै कारण नयाँ बाटाहरु कालोपत्रे गर्ने स्थिति नरहेको वरु ग्रावेल गर्ने, नाला ब्यवस्थापन गर्दै स्तरोन्नति गरिने बताईन् ।प्रमुख प्रशासकीय अधिकृत मरासिनीले कर्मचारीवाट सेवा प्रवाहमा हुने ढिलासुस्ती, बेवास्ता र अनियमितताका विषय भए सिधै आफुलाई सुचना गर्न आग्रह गरे ।


प्रश्नकर्ताले सिंचाई, कृषि, बाटोघाटो, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वनजंगल, बन्यजन्तु तथा छाडा चौपायाबाट परेको जनधनको क्षति, फोहोरमैला ब्यवस्थापन, प्राकृतिक विपत्ति बाढी,पहिरो, डुवान,कटानका समस्या लगायतका विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए ।सेवा प्रवाहका विषयमा एउटै कामका लागि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ भनी प्रश्न गरेका थिए भने सेवामुलक भनिएका कृषि शाखा र शाखाले उपलब्ध गराउने वस्तुहरु घुम्ती सेवामार्फत स्थानीयको पहुँचमा सम्वन्धित वडाबाटै वितरण गर्ने परिपाटी मिलाउन आग्रह गरेका थिए ।

नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाईमार्फत जनताले प्रत्यक्ष रुपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफुहरुलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताए ।प्रमुख प्रशासकीय अधिकृत मरासिनीले अझै तिनवटा भूगोलमा यस आर्थिक वर्षको सार्वजनिक सुनुवाई गरी नगरपालिकाकै सार्वजनिक सुनुवाई सम्पन्न गर्ने जानकारी दिए ।


वडा नं. ७ र ८ को वडा कार्यालय परिसरमा भएको कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं. ११ का अध्यक्ष तिलप्रसाद काफ्ले, वडा नं. ६ का अध्यक्ष मिनबहादुर सोती मगर, वडा नं. ७ का अध्यक्ष भूमीसरा आले, वडा नं. ८ का अध्यक्ष नूनबहादुर बाचे मगर र वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटा सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारी, ४ वटै वडाका सचिव, कर्मचारी, विभिन्न राजनैतिक, सामाजिक, संघसंस्था, टोलविकास, क्लव, समूह, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

Write your Comment