आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

    प्रकाशित २०७९ फागुन ९, मंगलबार (१ साल अघि)


काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हासिल गरेको छ । योसँगै नेपालले विश्वकप लिग २ मा पहिलो पटक सबै चार खेल जितेको छ ।

जितको लागि स्कटल्यान्डले दिएकाे २ सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेले । अरु खेलाडि एक एक गर्दै सस्तैमा आउट भएपनि रोहित मैदानमा एक्लै डटे । उनले नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले राम्रो साथ दिए । रोहित १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा नटआउट रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा नटआउट रहे ।

एक समय ३१.५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई करण केसी र रोहित पौडेलले जिताए। यो जोडीले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्यो । कप्तान रोहितले विजयी चौका प्रहार गरे ।

यसअघिका तीन खेलमा सानदार ब्याटिङ गरेपनि स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७, आसिफ शेख १२, सन्दीप लामिछाने ९, दीपेन्द्रसिंह ऐरी ७ र सोमपाल कामी २ रनमा आउट भए ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए । सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।

उनले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका थिए ।उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२-२२ रन बनाए । उसका लागि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १-१ विकेट लिए ।

यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।केसी नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।

Write your Comment