आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

दीपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको शानदार जित

    प्रकाशित २०७९ फागुन ५, शुक्रबार (१ साल अघि)


काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको शानदार जित हासिल गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।

जितका लागि पाएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ८५ रन बनाए । दीपेन्द्रको लिग टूमा यो पहिलो अर्धशतक हो । उनको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रको करिअरको उत्कृष्ट प्रदर्शन गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रन थियो ।

सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा नटआउट रहे । सोमपालले चौका प्रहार गर्दै विजय दिलाए ।अलराउन्डर कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले । आउट हुनुअघि कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए ।

कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । कुशलको यो करिअरको दोस्रो ओडिआई अर्धशतक हो । कुशलको यो अन्तर्राष्ट्रिय कुनैपनि खेलको उत्कृष्ट प्रदर्शन हो । एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले १ सय रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । गुलन झा १७, कुशल भूर्तेल १६, आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ६, कप्तान रोहित पौडेल ६ रन बनाएर आउट भए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले शतक प्रहार गरे । ८५ बलमा ३ चौका र ९ छक्कासहित उनी १०७ रनमा नट आउट रहे । शुरुमा विकेट गुमाएर दबाबमा परेको पाहुना टोलीलाई लिस्कले सम्हालेर २७४ रनसम्म पुर्याए । १ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले थप १६३ रन जोड्दा मात्र तीन विकेट गुमायो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Write your Comment