आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

कुशल भुर्तेलले शतक बनाएपछि नामिबियामाथि नेपालको ऐतिहासिक जित

    प्रकाशित २०७९ फागुन २, मंगलबार (१ साल अघि)


काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हासिल गरेको छ । ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ४४ रन थियाे । नेपालले त्याे विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुन पुगेका थिए । कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय कीर्तिमानी साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

ओडिआईमा नेपालबाट बनेको उच्च साझेदारी हो । यसअघि उच्च साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको गरेका थिए । कप्तान रोहितले दुई जीवनदान थिए । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए । रोहितले ३९ रनमा पुनः जीवनदान पाएका थिए । करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहे । सोमपाल कामीले विजयी चौका प्रहार गरे । सन्दीप जाेराले २४ बलमा २८ रन बनाए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनायाे ।कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए ।

यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए । नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीप लामिछानेले ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । यस्तै ४९औं ओभर बलिङ गरेका उनले उक्त ओभरको पहिलो र अन्तिम बलमा विकेट लिए । सोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

नेपालले अब दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल २४ खेलमा ९ मा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौं स्थानमा छ ।

Write your Comment