आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

शिक्षाको अधिकार कार्यान्वयनको लागि देवचुली नगरपालिकामा मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

    प्रकाशित २०७९ फागुन १, सोमबार (१ साल अघि)


नवलपुर। मानव अधिकार समुह देवचुली नगरपालिकाले शिक्षाको अधिकार कार्यान्वयनको सन्दर्भमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।समुहका संयोजक कृष्णबहादुर विश्वकर्मा सहितको समुहका सदस्यहरूले नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकाललाई आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै नि:शुल्क शिक्षा कार्यान्वयन सहित विभिन्न ११ वटा बुँदामा ध्यानाकर्षण गराएका हुन् ।


ध्यानकर्षण पत्र बुझाउँदै समुहका अध्यक्ष विश्वकर्माले नगरपालिका भित्रका केही सामुदायिक विद्यालयहरूमा लामो समय देखि विद्यालय व्यवस्थापन समिति गठन नहुँदा विद्यालय सिकाईमा समेत नकरात्मक प्रभाव परेको बताउनुभयो ।उहाँले विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन, विद्यालय दिवा खाजा कार्यक्रमको अनुगमन, बालमैत्री, बालिका मैत्री तथा अपाङ्गमैत्री पूर्वाधार निर्माण, दण्ड रहित शिक्षण पद्धति, दलित अल्पसंख्यक समुदायमा शिक्षाको पहुँचलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।

उहाँले देशकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तहको रूपमा रहेको देवचुली नगरपालिकामा बसोबास गर्ने अति विपन्न तथा सिमान्तकृत समुदायका विद्यालय उमेर समुहका बालबालिकाहरू विद्यालय शिक्षा पुरा गर्न नसक्ने अवस्था रहेको भन्दै आवश्यक बजेटको व्यवस्थापनमा समेत शिक्षा अधिकृत मार्फत नगर प्रमुख र कार्यपालिकाको ध्यानाकर्षण गराउनुभयो ।ध्यानाकर्षण पत्रमा नगरपालिका भित्र रहेका छात्रावासमा रहने छात्रा विद्यार्थी माथि हुन सक्ने दुर्व्यवहारको अन्त्यको लागि हिंसा विरूद्धको शिक्षा सञ्चालन गर्न समेत अनुरोध गरिएको छ ।


ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा अधिकृत ढकालले समुहले उठाएको सवालमा शाखा गम्भीर रहने बताउनुभयो ।

Write your Comment