आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: देवचुली ९ र देवचुली १६ (क) विजयी

    प्रकाशित २०७९ माघ १९, बिहिबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकामा संचालित तेस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७९ मा देवचुली ९ र देवचुली १६ (क) विजयी हुँदै दोस्रो चरण प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलमा देवचुली ९ ले देवचुली ५ लाई ५-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । देवचुली ९ बाट प्रदीप परियारले २ गोल,दिपेश राना मगरले ले २ गोल र अमृत परियारले १ गोल गरेका थिए। पहिलो खेलमा देवचुली ९ का दिपेन राना मगर म्यान अफ दि म्याच भएका छन् ।

त्यस्तै प्रतियोगितामा आज भएको दोस्रो खेलमा देवचुली १६ (क) ले देवचुली ४ लाई २-१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। देवचुली १६ (क)बाट कैलाश परियार र बसन्त बानियाले १/१ गोल गरेका थिए भने देवचुली ४ का सुमन थापाले गोल गरेका थिए । दोस्रो खेलमा देवचुली १६ (क)का कैलाश परियार म्यान अफ दि म्याच भएका छन् । खेल सकिए पश्चात देवचुली १६ (क) ले वडा भन्दा बाहिरका खेलाडी खेलाएको भन्दै देवचुली ४ ले प्रोटेस्ट गरेको छ । सो को निर्णय आयोजकले चाँडै गर्ने जनाएको छ। यदि देवचुली ४ ले प्रोटेस्ट जितेमा देवचुली १६ (क) खेलबाट बाहिरिने छ।

आजको खेलमा देवचुली ४ का अध्यक्ष गिरबहादुर थापा, ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख भीमसेन घिमिरे,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, उपाध्यक्ष दुर्गा विष्ट,सचिव ईन्द्रमणी भुसाल, प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटा लगायतका अथिती रहनुभएको थियो।

देवचुली नगर खेलकुद विकास समिति आयोजना तथा श्री जनकल्याण सामाजिक विकास केन्द्र (फिर्के) को सह आयोजनामा देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा खेल संचालन भएको हो। देवचुली नगरपालिकाका १५ वडाबाट १७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय टिमले नगद ४१ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई समुहले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । शुक्रबारको पहिलो खेल देवचुली १३ र देवचुली १४ बीच साथै दोस्रो खेल देवचुली १ र देवचुली ७ बिच हुने खेलकुद समितिका सचिव प्रकाश काफ्लेले बताउनुभयो ।

Write your Comment