आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मध्यविन्दुमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

    प्रकाशित २०७९ पौष १२, मंगलबार (१ साल अघि)


चोरमारा।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा दुई दिन सञ्चालन भएको मानवअधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि क्षमता अभिवृद्धि तालिम समूहको कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको छ ।

तालिमको अन्तिम दिन समूहका सदस्य तथा सरोकारवालाहरुको समूह बिभाजन गरी विषगत रुपमा कार्ययोजना निर्माण गरिएको थियो । मध्यविन्दु नगरपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेद विरुद्धको समस्या पहिचान सहित पैरवीका लागि योजना निर्माण गरिएको हो । समस्याको पहिचान सहित सम्बन्धित सरोकारवाला निकायको पहिचान गरी समस्या समाधानको लागि समूहले गर्ने कार्यबारे कार्ययोजना निर्माण गरिएको थियो ।

दुई दिन सम्म सिकेका सिकाई र निर्माण गरिएको कार्ययोजना कार्यान्वयनको लागि मानव अधिकार समूह क्रियाशिल रहने मानव अधिकार समूह मध्यविन्दु नगरपालिकाका अध्यक्ष भुपलाल अर्यालले बताए । दुई दिनसम्म तालिममा प्राप्त सिकाई र समूह छलफलबाट पहिचान गरिएका सवालहरुको पैरवी गर्ने दायित्व स्थानीय मानव अधिकार समूहको भएको इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले बताए । त्यसका लागि स्थानीय सरकारसँगै सम्बन्धित सरोकारवाला निकायसँगको सम्बन्ध बिस्तार र सहकार्य आवश्यकता रहेकोमा उनले जोड दिए ।

मध्यविन्दु नगरपालिका मानव अधिकार समूहका सदस्य र नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा सञ्चालित तालिममा मानव अधिकारको अवधारणा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, शिक्षा स्वास्थ्य वातावरण र जातिय विभेद विरुद्धको अधिकार सम्बन्धि मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था, मध्यविन्दु नगरपालिकामा अधिकार कार्यान्वयनको अवस्थाबारे सामुह छलफल, सुशासन र मानव अधिकार, मानव अधिकार विकास पद्धती एक अवधारणा, मानव अधिकार समुहको काम कर्तव्य तथा आचारसंहिता बारे प्रस्तुति भएको थियो ।

तालिममा प्रदेश संयोजक शिव खकुरेल, इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा, जिल्ला सहजकर्ता राजु चापागाईं, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुलगायतले सहजीकरण गरेका थिए ।

Write your Comment