आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैंडाकोटमा बाँसको हस्तकला सामग्री बनाउने सीपमूलक तालिम सम्पन्न

    प्रकाशित २०७९ पौष १२, मंगलबार (१ साल अघि)


नवलपुर । गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा बाँसको हस्तकला सामग्री बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ।इन्टरनेशनल डेभलपमेन्ट रिसर्च सेन्टर (आईडिआरसी) को आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल,हिमवन्ती नेपाल,पारिवारिक निजी वन संघ नेपाल,नेपाल वन पैदावर उद्योग व्यावसायिक महासंघको सहकार्यमा गैंडाकोटको भुजेल गाउँमा २० दिनसम्म संचालित तालिमको आइतबार समापन गरिएको हो। मंसिर २० गतेदेखि पुष १० गतेसम्म भुजेल गाउँका १८ जना महिलाहरूलाई तालिम प्रदान गरिएको हो।

गैंडाकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारीको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रममा बोल्दै तिवारीले परम्परागत रुपमा काम गर्दै आइरहेका भुजेल गाउँका महिलाहरुलाई प्राथमिकता दिई सीप प्रदान गर्नु अति नै प्रशंसनीय कार्य भएको बताए। तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गर्दै तिवारीले आवश्यक सहयोगका लागि सहकार्य गर्नका वडा कार्यालय तयार रहेको बताए । `अब दिगोपनका लागि स्थानीय तबरबाट काम गर्छौं ´ उनले भने ।


“बजारमा बाँसबाट बनेको सामग्री कसरी बनाउने होला भन्ने लाग्थ्यो तर अहिले आफैंले सीप सिकेका छौं ,अब उद्यमी बन्न हौसला प्राप्त भएको छ ”,सहभागी मनकुमारी भुजेलले भनिन् ।सुरुमा सामग्री बनाउन गाह्रो भएता पनि अहिले बाँसका हस्तकला बनाउन सहज भएको उनले बताइन् । सामग्री बनाउनका लागि आवश्यक कच्चापदार्थ लागि गत असारमा प्रतिपरिवार पाँच/पाँच वटा बाँसको बिरुवा रोपिएको र अहिले हुर्किदै गएको बाँसको सामग्री हस्तकला उत्पादन उद्यम समुहका अध्यक्ष शान्तिकुमारी भुजेलले बताइन् ।

सामुदायिक वन नै जिविका चलाउने आधार भएका भुजेल गाउँका महिलाहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने कार्यमुलक अनुसन्धान गरि परियोजना निर्माण गरिएको लामो समयसम्म अनुसन्धानमा काम गरिरहेकी कन्चन लामाले बताइन् ।“भुजेल गाउँका महिलाहरूले सीप मात्र सिकेको पाईन,नेतृत्व र व्यवहारमा निकै परिवर्तन गरेको पाए ”,लामाले भनिन् ।

फरेष्ट एक्सन नेपाल,हिमवन्ती नेपाल,पारिवारिक निजी वन संघ नेपाल,नेपाल वन पैदावर उद्योग व्यावसायिक महासंघले वन उद्यमीबाट महिलाको आर्थिक सशक्तिकरण परियोजना सञ्चालन गरी विभिन्न सीप प्रदान गर्दै आएको छ। यसले वनमा आधारित आयआर्जनका क्रियाकलापमा महिलाको सहभागिता बढ्दो रहेको छ।“खासगरी वनमा यस्तै खेर जाने कच्चापदार्थलाई सदुपयोग गरी आयआर्जनका काममा जोड्न हामीले लगानी गरेका छौँ”, कार्यक्रम संयोजक कमल भण्डारीले भने।


नवलपुरको देवचुलीमा रहेको नमुना सामुदायिक वन र अमर ज्योति सामुदायिक वन, गैंँडाकोट नगरपालिकामा रहेको सुन्दरी सामुदायिक वन, शङ्खदेवी सामुदायिक वन र देउराली सामुदायिक वनका महिलालाई विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताए।संस्थाबाट महिलाका लागि आवश्यक पर्ने तालिम, कच्चापदार्थ, मेसिन उपलब्ध गराउने र महिलाबाट निर्मित हस्तकला तथा सामग्रीको बजारीकरणका लागि सहयोग गर्ने गरिएको भण्डारीले बताए।विभिन्न सामुदायिक वनमा आवद्ध महिलाले थाकलबाट झोला, हर्राे–बर्रोबाट त्रिफलो, बाँसबाट विभिन्न सामग्री, अम्रिसोबाट कुचो, बेसार तथा अदुवाको सुठो तयार गर्ने, दुनाटपरी साथै विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने गरेको उनले बताए।

बाँसको सामग्री हस्तकला उत्पादन उद्यम समुहका अध्यक्ष शान्तिकुमारी भुजेलको अध्यक्षता भएको समापन कार्यक्रममा पारिवारिक निजी वन संघ नेपालका केन्द्रिय सदस्य सीता भुसाल, जिल्ला सदस्य कृष्ण तिवारी,देउराली सामुदायिक वनका अध्यक्ष नरबहादुर मगर लगायत स्थानीयको उपस्थिति रहेको थियो। समापन कार्यक्रमको सहजीकरण पारिवारिक निजी वन संघ नेपालका व्यवस्थापक गंगा न्यौपानेले गरेकी थिइन्।

Write your Comment