आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा चर्को ब्याजविरुद्ध हस्ताक्षर संकलन

    प्रकाशित २०७९ पौष ५, मंगलबार (१ साल अघि)

खगेन्द्र पराजुली, नवलपुर। नवलपुरका ब्यवसायीहरु चर्को ब्याजदरका विरुद्ध आन्दोलित भएका छन् । आज मंगलवार जिल्लामा रहेका ४ वटा उद्योग बाणिज्य संघमा आवद्ध उद्योगी एवं ब्यवसायीहरुले विरोध स्वरुप हस्ताक्षर संकलन, हातमा कालोपट्टी बाँधेर शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी जनाए ।

बैक तथा वित्तीय संस्था तथा सरकारलाई समेत दवाव दिएर आफ्ना मागलाई कार्यान्वयन गराउन दोस्रो चरणको आन्दोलन अन्तर्गत हस्ताक्षर संकलन गरिएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडीले बताए ।

देवचुलीको दलदले बजारस्थित दलदले बजार व्यवस्थापन समितिको भवन अगाडी हस्ताक्षरका लागि बनाईएको ब्यानर टाँगेर संकलन गरिएको हस्ताक्षर सामग्री र आफ्ना माग सहितको ज्ञापन पत्र भोलि बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पठाउने कार्यक्रम रहेको महासचिव विनोद सिलवालले बताएका छन् ।

यस्तै, आजै कावासोतीमा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालको नेतृत्वमा कालो ब्यानर, हस्ताक्षर संकलनको ब्यानर र विभिन्न प्लेकार्ड सहित धर्ना दिईएको नवलपुर उद्योग बाणिज्य संघले जनाएको छ ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालले एक अंकमा बढी नहुने र व्यापारमा १–२ प्रतिशत मात्र थप गरी लिन पाईने गरी लगानी योग्य पूँजीको व्यवस्थापन, बैंकहरुको खर्च न्यून गरी स्पेड दर ३ प्रतिसत भित्र रही जोखिमका आधारमा आधार दरमा बढिमा २ प्रतिसत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी. नेगोसियसन शुल्कमा दोब्बर बृद्धिलाई अन्त्य गरी गत वर्षको भन्दा बढी नलिन र हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पूर्ण तालिकिकरण गरी, व्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रकृयालाई हाल स्थगित गर्न र हालको वाह्य तथा आन्तरिक कारणको असहज समय उपयुक्त नभएकोले चालु पुँजी कर्जा निर्देशिका स्थगित लगायतका माग रहेको बताए ।

आजै मध्यविन्दु र गैंडाकोटमा समेत सम्वन्धित उद्योग वाणिज्य संघको आह्वानमा हस्ताक्षर संकलन तथा विरोध–धर्ना कार्यक्रम भएका छन् । जिल्लामा रहेका चारवटै उद्योग वाणिज्य संघले जम्मा पारेका सामग्री सहित भोलि सदरमुकाम कावासोतीस्थित नवलपुर उद्योग वाणिज्य संघको कार्यालय अगाडी इन्द्रचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म शान्तिपूर्ण विरोध र्याली सहित प्रशासनमा ज्ञापन पत्र बुझाईने नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिए ।

Write your Comment