आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

चाैथाे देवचुली महाेत्सव माघ ५ गतेदेखि १५ गतेसम्म हुने

    प्रकाशित २०७९ पौष २, शनिबार (१ साल अघि)


देवचुली । चाैथाे देवचुली महाेत्सव माघ ५ देखि १५ सम्म हुने भएको छ।देवचुली उद्योग वाणिज्य संघले देवचुली १७ फारमस्थित वरचुली माविको खेल मैदानमा महोत्सव गर्न लागेको हो । शनिबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा माघ ५ देखि १५ गतेसम्म महोत्सव गरिने जनाएको हो।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष सुर्य प्रसाद दवाडीका अनुसार मेलामा विभिन्न स्थानिय कृषि प्रबद्धन, स्थानिय उत्पादनलाई मेलामा प्राथमिकता दिने बताए । उनले महोत्सवमार्फत आर्थिक, साँंस्कृतिक तथा सामाजिक उत्थानका साथै शिक्षा, कृषि, पर्यटन, उद्योग, ब्यापार, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य राखिएको बताए ।

महोत्सवमा डेढ लाख भन्दा धेरै दर्शकले अवलोकन गर्ने र १५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको दवाडीले सुनाए । महोत्सव सञ्चालनका लागि ६० लाख रुपैंया खर्च लाग्ने अनुमान लिएको संघले टिकट, स्टल, प्रायोजकहरु आम्दानीको मुख्य स्रोत हुने जनाएको छ । महोत्सवबाट बचेको रकममध्ये ७० प्रतिशत संस्थाको पक्की भवन निर्माणमा खर्च गर्ने बताएका उनले बाँकी रकम शिक्षण संस्था, पर्यटन प्रवर्द्धन, तालिम, अवलोकन भ्रमण र सचेतना सम्बन्धी कार्यमा लगाईने बताए ।

१ सय ५० वटा व्यवसायिक स्टल भर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। महोत्सव स्थलमा दैनिक सांँस्कृतिक कार्यक्रम, बाल उद्यान, विभिन्न वस्तुका स्टल तथा स्थानीय उत्पादन, संस्कृति, जातजातिका मौलिक भेषभूषा मेला आकर्षणका रुपमा रहने बताउँदै उनले विभिन्न विधामा प्रतियोगिताहरु सञ्चालन गरिने जानकारी दिए । उनले देवचुली डान्स आइडल, भजन, खेलकुद प्रतियोगितासँगै विद्यालयस्तरीय नृत्य, बादविवाद, आमा समूहबीचको हाजिरी जवाफ प्रतियोगिता समेत गरिने बताए ।

महोत्सव प्रवेश शुल्क १ सय रुपैंया तोकिएको छ । तर, परिचय पत्र सहित आउने बिद्यार्थीलाई ७० रुपैंया, विद्यालय पोशाक सहित समूहमै आउने विद्यार्थीलाई ५० रुपैंया तथा रातो कार्ड प्राप्त अपाङ्गता, ७० वर्ष माथिका ज्येष्ठ र ५ बर्षमुनिका बालबालिकालाई भने प्रवेश निशुल्क रहेको जनाईएको छ । शोभायात्रा सहित महोत्सव उद्घाटन गरिने भएकाले पहिलो दिनको प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ ।

Write your Comment