आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

‘शिक्षा प्रणाली विश्वमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने बनाउनुपर्छ’

    प्रकाशित २०७९ पौष १, शुक्रबार (१ साल अघि)


दयाराम आचार्य ,कावासोती । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शिक्षा प्रणालीलाई विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने बनाउनुपर्ने बताउनु भएको छ । विहिबार नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रहेको शिव माध्यामिक विद्यालयको ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रममा आफ्नो भनाई राख्दै उहाँले शिक्षाको गुणस्तर वृद्धि गरि विश्वव्यापी रुपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरि लाग्नुपर्ने बताउनु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘हामी नेपालको प्रतिस्पर्धी जनशक्ति मात्रै होइन, विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने दिशामा जानुपर्छ, शिक्षालाई त्यो दिशामा लान आवश्यक छ, यसका लागि गुणस्तरिय शिक्षाको खाँचो छ ।’
कार्यक्रममा बोल्दै उहाँले थप भन्नुभयो ‘ अहिले प्रतिस्पर्धाको समय हो,यसकारण शिक्षाले आफ्नो देशमा मात्रै होइन अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्न आवश्यक छ, हामिले उत्पादन गरेको जनशक्ति अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन ? अब हाम्रो बाटो त्याहाँ हुन जरुरी छ ।’

अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति आफैलाई बोझ हुने स्थिती बनेको बताउँदै अब उद्यमशिलतालाई जोड्ने गरि शिक्षालाई अघि बढाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
उहाँले राज्यको ध्यान विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिनेतर्फ हुनुपेर्न समेत बताउनु भएको छ । कतै विद्यालयमा विद्यार्थी कम , शिक्षक बढी र कतिपय विद्यालयमा विद्यार्थीको संख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको बताउँदै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षाको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।सामान्यतया एउटा विद्यार्थीलाई प्रारम्भिक चरण देखी कक्षा १२ सम्म कम्तीमा बाह्र वर्ष लगानी गरेपछि जनशक्ति तयार हुने बताउदै यसै अनुसार योजना र लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो ‘ हामीले कस्तो जनशक्ती तयार गर्ने भन्ने कुरा निर्धारण गरेर १२ वर्षको योजना बनायौ भने , एक देखी १२ सम्म जादा बल्ल त्यो विद्यार्थी तयार हुन्छ , यसकारण कम्तीमा १२ वर्षको योजना चाहियो , अनी मात्रै हामीले प्रतिस्पर्धी जनशक्ती तयार गर्न सक्छौ । ’

कावासोतीको शिव मावीमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र मुख्यमन्त्री पोखरेलले विद्यालयको २ वटा नवनिर्मित भवनको उद्धघाटन समेत गर्नुभएको थियो । कार्यक्रममा नजनिर्वाचित जनप्रतिनिधि सम्मान, अक्षयकोष दाता सम्मान, उत्कृष्ट शिक्षक लगायतलाई सम्मान गरिएको थियो । कायकार्यक्रम जिसस प्रमुख समेत रहनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता तथा विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा भएको थियो । रासस

Write your Comment