आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

बालश्रम अन्त्य सम्बन्धी क्षेत्रीय परामर्श गोष्ठी सुरु

    प्रकाशित २०७९ मंसिर २९, बिहिबार (१ साल अघि)

काठमाडौं। बालश्रम अन्त्य गर्नका लागि तयार परिएको मस्यौदालाई अन्तिम रुप दिने दक्षिण एशिया क्षेत्रीय परामर्श सम्बन्धी दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अग्रसरमा बालबालिका विरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशिया पहल (स्याभेक) क्षेत्रीय सचिवालय र अन्तराष्ट्रिय श्रम संगठनको लिड र एनएसीजी नेपालको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी छन् । बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा बाल श्रम अन्त्यका विषयमा विभिन्न क्षेत्रका सरोकारवालहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ । दुई दिनसम्म समूहगत छलफल गरेर मछलफलबाट आएका सुझाबलाई समेटेर मस्यौदा तयार पारिने छ ।

उद्घाटन शत्रमा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नीतिगत व्यवस्था कार्यान्वयनको चरणमा रहेको जानकारी दिइन । बाल श्रमको समस्या विश्वभर नै रहेको भए पनि एशिया त्यसमाथि पनि दक्षिण एशियामा थप विकराल रहेको मन्त्री रेग्मीको भनाइ थियो । दक्षिण एशिएको आर्थिक सामाजिक कारण पनि यहाँ बाल श्रम अरुभन्दा धेरै रहेको मन्त्रीको भनाइ छ । बाल श्रमलाई अन्त्य गर्नका लागि सरकारले काम गरिरहेको उनको दाबी थियो ।

सरकारले ऐन, कानुन बनाइसकेको र त्यसको कार्यान्वयन गरेर बालश्रम अन्त्य गर्नु पर्ने उनको भनाइ थियो । यो एक्सन प्लानले पनि बाल श्रम अन्त्यका लागि सुझाब दिने र त्यसलाई पनि समेटेर बालश्रम अन्त्यका लागि काम गर्न सरकार तयार रहेको मन्त्री रेग्मीले बताइन । बालबालिकाका विषयमा विभिन्न ऐन, कानुनहरु बनेको भन्दै राजनीतिक लगायत कारणले कार्यान्वयनमा केही समस्या भएको उनको भनाइ थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले अन्य क्षेत्रमा भन्दा दक्षिण एशियामा बालश्रम बढी रहेको भन्दै यसको अन्त्यका लागि सरकारले विभिन्न पहलहरु गरिरहेको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण बालश्रमलाई अन्त्य गर्न नसकिएको उनको भनाइ छ ।

नेपालमा अनौपचारी र कृषि क्षेत्रमा रहेका बाल श्रमिकहरुले पारिश्रमिक नपाउने गरेको उनले बताए । यो उनीहरुको बाध्यता रहेको पनि उनको भनाइ छ । यसलाई रोक्नका लागि आर्थिक रुपमा सम्पन्न बन्ने तर्फ लाग्नु पर्ने आवश्यकता देखिन्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै एनएसीजी नेपालका अध्यक्ष बेनी माया गुरुङले बाल श्रम मुक्त समाज निमार्णका लागि बनाउने नीति नियमका लागि यो कार्यक्रम निकै फलदायी हुने विश्वास व्यक्त गरिन् । अहिले पनि करिब ११ लाखभन्दा बढी बालबालिका श्रमिकका रुपमा काम गर्न बाध्य रहेको उनको भनाइ थियो । यसका साथै बालबालिकाको अवैध रुपमा हुने ओसार पसारको समस्या पनि जटिल रहेको उनले बताइन् ।

बालबालिकाका लागि बन्ने नीति नियमहरु कार्यान्वयन गर्नमा दक्षिण एशियाका देशहरु पछि परेको उनको तर्क थियो । सबै निकायका समन्वय गरेर बालश्रम अन्त्यका लागि काम गर्न पनि उनले आग्रह गरिन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, श्रम मन्त्रालय लगायतको समन्वयका खाँचो रहेको उनको भनाइ छ ।

त्यस्तै बालबालिकाविरुद्धको हिंसाविरुद्धको कार्यमा दक्षिण एशिया समन्वय समूहका अध्यक्ष थांगापेरुमल पोनपाण्डीले बाल श्रम अन्त्य गर्नका लागि कार्यक्रममा निकै फलदायि हुने विश्वास व्यक्त गरे । बालश्रम अन्त्यका लागि गर्नु पर्ने कामका विषयमा यो अन्तक्रिया कार्यक्रमले सुझाब पेश गर्ने उनेको भनाइ थियो । आर्थिक रुपमा कमजोर राष्ट्रमा यसको अवस्था विकसित देशकोभन्दा अझ दयनीय रहेको उनले बताए ।

त्यस्तै स्वागत मन्तव्य दिदै बालबालिका विरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशिया पहल अन्तर्गतको बाल व्यवस्थापन बोर्डका सदस्य प्रेनुसा पाण्डे धेरै बालबालिका बिना पारिश्रमिक काम गर्न बाध्य रहेको बताएकी छन् । भविष्य कोर्ने समयमा श्रमगर्दा उनीहरुको भविष्य नै अन्धकार मय बनेको उनको भनाइ थियो । बालश्रम र बालश्रम शोषणको अन्त्य गर्नु पर्ने आजको आवश्यकता रहेको उनले बताइन् ।

Write your Comment