आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

ब्याजवृद्धिको विरोधमा नवलपुरमा दोस्रो चरणको आन्दोलन सार्वजनिक

    प्रकाशित २०७९ मंसिर २७, मंगलबार (१ साल अघि)


कावासोती।नवलपुर उद्योग वाणिज्य संघले मुलुकमा पछिल्लो समय चुलिदै गएको आर्थिक संकटका बिच भरथेग गरेरै भएपनि मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई झन समस्याग्रस्त बनाउने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देश– २०७९ र त्यही मार्गनिर्देशनको आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई धराशाही बनाउने गरी बैंकहरुको सिन्डीकेटले गरिरहेको कडिकडाउ प्रति नवलपुर उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन मार्फत दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलन अन्तरगत नवलपुर जिल्ला भित्र रहेका उद्योग वाणिज्य संघद्धारा सयुक्त रुपमा प्रथम चरणको आन्दोलन स्वरुप प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनर, मुख्यमन्त्रीलाई ध्यान आर्कषण पत्र बुझाएको थियो । पहिलो चरणको आन्दोलनको कुनै पनि सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरीएको नवलपुर उद्योग बाणिज्य संघका महासचिव बुद्धिसागर पोख्रेल (सागर)ले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले कोभिड – १९ को विश्वव्यापी महामारीका कारण सिंगो राज्य नै आर्थिक मन्दीको संघारमा रहेको अवस्थामा अर्थतन्त्रलाई पूनः चलायमान बनाउन महत्वपूर्ण योगदान दिएका निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढङ्गले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क जोडी आर्थिक भार थप्ने, ब्याज किस्ताको लागि तारन्तार मानसिक दबाब दिने जस्ता कार्यले सिंगो निजी क्षेत्र नैं हतोत्साही भएको बताउँदै कर्जामा भएको ब्याजदर अविलम्ब एकल अंक हुनेगरी घटाउन, व्यवसायीहरुलाई मानसिक तनाव दिने प्रवृतिको अन्त्य गर्न, ब्याज तिर्ने समय सिमा बढाउन, विभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिब बनाउन कर्जाको ब्याज दर पुनः संरचना गर्न बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रकृयाहरु तत्काल रोक्न, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न माग गर्नुभयो ।

साथै पत्रकार सम्मेलनमा एक्यबद्धता जनाउँदै गैडाकोट उद्योग वाणिज्य संघका सचिव सुरेन्द्र तिवारी मध्यबिन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुली र नवलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डासुराज पोख्रेलले आम व्यावसायीको हितका लागि बाध्य भएर उद्योग वाणिज्य संघहरु एक भएर आन्दोलन गर्न परेको बताउनुभयो ।

पत्रकार सम्मेलन मार्फत निक्षेप व्याजदर बढाउँदैमा निक्षेप बढेन भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाईने गरी लगानी योग्य पूँजीको शिघ्र व्यवस्थापन, बैंकहरुको खर्च न्यून गरी स्पेड दर ३ प्रतिसत भित्र रही जोखिमका आधारमा आधार दरमा बढिमा २ प्रतिसत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल. सी. नेगोसियसन शुल्कमा दोब्बर वृद्धिलाई अन्त गरी गत वर्षको भन्द बढी लिन नपाईने , हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पूर्ण तालिकिकरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रकृयालाई हाल स्थगित गर्न र हालको बाह्य र आन्तरिक कारणको असहज समय उपयुक्त नभएकोले चालु पुँजी कर्जा निर्देशिका स्थगितको माग राखेका छन ।

साथै बेमौसमी बाजाको रुपमा चालु पूंजी निर्देशिकाका कारण अन्यौलको अवस्था सृजना भएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन जस अन्तरगत मंसिर २८ गते जिल्ला स्थित सम्पुर्ण बैक तथा वित्तिय संस्थामा ज्ञापन–पत्र बुझाउने , पुस ५ गते जिल्लाका सबै उद्योग वाणिज्य संघहरुले कालो पट्टी सहित धर्ना तथा दबाब स्वरुप हस्ताक्षर संकलन गर्ने, पुस ६ गते शान्तिपुर्ण रुपमा प्लेकाड/ब्यानर सहित नगर परिक्रमा विरोध प्रदर्शन गर्ने र ६ गते नै संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनरलाई बुझाउने जस्ता विरोधका कार्यक्रमहरु तय गरेका छन ।

साथै दोस्रो चरणको आन्दोलनमा जिल्लाका सम्पुर्ण उद्योगी, व्यावसायी, संचारकर्मी राजनैतिकदलहरुको पुर्ण साथ र सहयोगको अपेक्षा लिएको पत्रकार सम्मेलनमा नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेल र अध्यक्ष बैकुण्ठप्रसाद अर्यालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएकोछ ।

Write your Comment