आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

बालिका सशक्तिकरणका लागि परिवार र समुदाय सशक्तिकरण हुनुपर्ने सरोकारवालाको जोड

    प्रकाशित २०७९ मंसिर २७, मंगलबार (१ साल अघि)


कावासोती। बालिका र किशोरी सशक्तिकरणको लागि परिवार र समुदाय नै सशक्तिकरण हुनुपर्ने कावासोती ११ मा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतीमा सञ्चालन गरेको किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत वडास्तरीय सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले सो कुरा बताएका हुन्।


हिंसाको प्रकृति फेरिएको देखियता पनि व्यक्तिका साना साना गल्तीले गर्दा पनि विशेष गरि बालिकाहरु र महिलाहरु माथी हिंसाको दर बढी रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरका महिला बालबालिका सेल प्रमुख बिन्दु बिकले तथ्यांक सहित बताइन् ।
अनलाइन र मोबाइल फोनको दुरुपयोगले पछिल्लो समय धेरै नै समस्याहरु आउने गरेको र यो रोक्नको लागि सबै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिइन् । नवलपुरमा बालिकाहरु हराएको भनेर सूचनाहरु आउने र सो तथ्यांकका अधिकांश बालिकाहरुले बाल विवाह गरेको भेटिने पनि उनले बताइन् ।

कावासोती वडा न ११ का सदस्य मिना थनेतले अहिले पनि बालबालिकाहरुमा असमानता रहेको र यसलाई रोकी बालिकाहरुको सहभागिता अभिवृद्धिको लागि पहल गर्नुपर्नेमा जोड दिइन् ।सामुदायिक सेवा केन्द्र कावासोतीको अध्यक्ष नारायणी भट्टराईले महिलाहरुले के हिंसा हो भन्ने थाहा नहुँदा सहेर बस्ने गरेको र यसले महिला माथिको हिंसा बढी रहेको बताइन्। महिला र किशोरीहरुको सशक्तिकरण आवश्यक रहेको र हिंसा रहित समाज र स्थानीय तह निर्माणमा लाग्नु पर्नेमा उनले जोड दिइन् ।


कार्यक्रममा महिला बालबालिका सेलबाट बिन्दु बिक र जागृति बाल तथा युवा सरोकार नेपालबाट दिपक शर्माले सहजीकरण गरेका थिए ।

कार्यक्रम क्यान्नालन स्विजरल्याडको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ११ र सामुदायिक सेवा केन्द्र कावासोतिसँगको समन्वयमा सम्पन्न भएको थियो ।सो कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारीहरु, आमा समुह र अन्य सरोकारवालाहरु गरि ४० जनाको उपस्थिति रहेको थियो ।

Write your Comment