आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

हिंसा अन्त्यको लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ : सरोकारवाला

    प्रकाशित २०७९ मंसिर २०, मंगलबार (१ साल अघि)


कावासोती।हिंसाको अन्त्यको लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने सरोकारवालाले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतीमा सञ्चालन गरेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडास्तरीय सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले सो कुरा बताएका हुन् ।


अहिले हिंसाको प्रकृति फेरिएको र व्यक्तिका साना साना गल्तीले गर्दा विशेष गरि बालिका र महिलाहरुमाथि हिंसाको दर बढी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका सेल प्रमुख बिन्दु बिकले तथ्यांक सहित बताइन् । अनलाइन र मोबाइल फोनको दुरुपयोगले पछिल्लो समय धेरै नै समस्याहरु आउने गरेकाले यो रोक्नको लागि सबै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिइन् । नवलपुरमा बालिकाहरु हराएको भनेर सूचनाहरु आउने र सो तथ्यांकका अधिकांश बालिकाहरुले बालविवाह गरेको भेटिने पनि उनले बताइन् ।

सामुदायिक सेवा केन्द्र कावासोतीको अध्यक्ष नारायणी भट्टराईले महिलाहरु आफ्ना समस्याहरु समयमा भन्न नसक्दा र हिंसा हो भन्ने थाहा नहुँदा सहेर बस्ने गरेकाले महिलामाथि हुने हिंसा बढी रहेको उनले बताइन् । हिंसाबाट बच्नका लागि महिला र किशोरीहरुको सशक्तिकरण आवश्यक रहेको र हिंसारहित स्थानीय तह निर्माणमा सबै जना लाग्नु पर्ने उनले जोड दिइन् ।

कावासोती नगरपालिका वडा नम्बर १३ का लालबहादुर गुरुङले स्वयं महिलाहरुको सक्रियता र सशक्तीकरणमा वडाले चासो दिने र हिंसा रहित समाज निर्माणमा वडा कार्यालयको आवश्यक सहयोग रहने बताए ।

कार्यक्रममा महिला बालबालिका सेलबाट बिन्दु बिक र जागृति बाल तथा युवा सरोकार नेपालबाट दीपक शर्माले सहजीकरण गरेका थिए ।कार्यक्रममा वडाभित्रका जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारीहरु, आमा समूह र अन्य सरोकारवालाहरु गरि ४० जनाको उपस्थिति रहेको थियो ।

Write your Comment