आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पिकनिकका लागि उत्कृष्ट गन्तव्य बन्दै घुमाउरी

    प्रकाशित २०७९ मंसिर ११, आईतबार (१ साल अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको घुमाउरी पिकनिक स्थल पिकनिकका लागि उत्कृष्ट बन्दै गएको छ । शुक्रबार र शनिबार ४० वटा समूह भन्दा बढी पिकनिकका लागि आउने गरेको घुमाउरीमा अन्य दिनमा १५ भन्दा बढी समूह पिकनिकका लागि आउने गरेको वनले जनाएको छ ।

नवलपुर जिल्लाबाट मात्रै नभई छिमेकी जिल्लाबाट समेत धेरै समूहहरू पिकनिकका लागि आउने गरेको र केहि महिना दैनिक पिकनिकका लागि आउने समूहको संख्या बढ्दै जाने घुमाउरी सामुदायिक वनका अध्यक्ष दीपक भट्टराईले बताए। घुमाउरी पिकनिक स्थल धेरैको पहिलो रोजाईमा पर्न थालेकोले यस क्षेत्रको आन्तरिक पर्यटनमा टेवा पुग्ने भट्टराईले बताए।


पिकनिक स्थलसम्म आउनका लागि सहज सडक,पर्याप्त पिउने पानी , विद्युत ,दाउरा,आवश्यक पर्नेका लागि खाना पकाउने भाँडा, फि इन्टरनेटको व्यवस्था साथै पिक्निकको लागि स्टलको व्यवस्था सहज भएकाले सबैको गन्तव्य घुमाउरी बन्दै गएको स्थानीय चन्द्रबहादुर थापाले बताए ।

२३४ हेक्टर वन क्षेत्र रहेको घुमाउरी सामुदायिक वनको ७ हेक्टरमा फैलिएको घुमाउरी पिकनिक स्थललाई ३३.७७ हेक्टरमा फैलाउने गरि कार्ययोजना तयार पारेको अध्यक्ष भट्टराईले बताए ।यस क्षेत्रको विकासको लागि स्थानीय ,प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरि प्रत्येक वर्ष केही न केही नयाँ योजनाहरू सम्पन्न गर्दै आएको र यस वर्ष पिकनिक स्थल नजिक रहेको पोखरीलाई विस्तार गरी उक्त पोखरीको बीचमा मन्दिर बनाइने योजना रहेको उनले बताए । पिकनिकमा आउँदा रमाईलो मात्र नभई हरियाली प्राकृतिक सौन्दर्यको साथ घुम्न मिल्ने गरि थप फूलको बगैंचा ,वनस्पति बगैंचा लगायतको निर्माण गरिने र घुमाउरीलाई अध्ययन केन्द्र बनाउने भट्टराईले बताए ।


घुमाउरी सामुदायिक वन अन्तर्गतको सानो क्षेत्रमा रहेको पिकनिक स्थलमा प्राकृतिक र शान्त वातावरण भएकाले धेरै समूहहरू रमाइलो गर्न, घुम्नका लागि आउने गरेका छन् । गत वर्ष घुमाउरी पिकनिक स्थलले वार्षिक करिब आठ लाख आम्दानी गरेको व्यवस्थापक उमा घर्ती मगरले बताइन् । नि:शुल्क प्रवेश गर्न पाईने घुमाउरी पिकनिक स्थलमा स्टलको लागि न्यून सेवा शुल्क लिने गरेको र सो शुल्कबाट पिकनिक स्थलको व्यवस्थापन तथा सरसफाईका लागि खर्च गर्ने गरेको घर्ती मगरले बताइन् ।

Write your Comment