आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

साफ च्याम्पियनसिपकी विजेता सेनुलाई विद्यालयमा सम्मान

    प्रकाशित २०७९ कार्तिक ३०, बुधबार (१ साल अघि)


देवचुली।बंगलादेशमा हालै सम्पन्न साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी खेलाडी सेनु परियारलाई उनी पढेको विद्यालय वरचुली माध्यमिक विद्यालयले सम्मान गरेको छ । देवचुली- १७ फारममा रहेको वरचुली माविले मंगलबार एक कार्यक्रम गरि उनलाई सम्मान गरेको हो । गत कात्तिक २३ गते भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भुटानबीच भएको खेलमा देवचुलीकी सेनु परियारले निर्णायक गोल गरेसँगै नेपालले जित निकाल्न सफल भएको थियो । जितपछि नेपाल अघिल्लो चरणमा पुगी उपाधि चुम्न समेत सफल भएको थियो । सेनुको खेल कौशल र उत्कृष्ट नतिजालाई सिरोपर गर्दै बरचुली माविले विद्यालयको मात्रै नभई जिल्ला र सिँगो मुलुकको नाम उच्च राख्न सफल भएको भन्दै सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै खेलकुद विकास समिति नवलपरासीपूर्वका अध्यक्ष सेतमान पुनले सेनुको मेहनतले आज नेपाल राष्ट्रिय स्तरमा चिनिन सफल भएको बताए । सेनुलाई राष्ट्रले सम्मान गर्नुपर्ने र आगामी दिनमा थप हौसला दिनुपर्ने पनि पुनले बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी सुमन अधिकारीले सेनुको जितसँगै आगामी दिनमा खेललाई थप अगाडि बढाउनको लागि विविध कार्यक्रम गर्नुपर्ने बताए । विद्यालयको वार्षिकोत्सवका अवसरमा अधिकारीले छात्रा खेलाडीको अध्यक्षकोष स्थापना गर्न ५० हजार रुपैयाँ र सेनुको खाजा खर्चलाई २ हजार ५ सय रुपैयाँ उपलब्ध गराएका थिए ।

यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला रेग्मीले छात्रा फुटबलको अध्यक्षकोषका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराउने बताइन् ।

बरचुली माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सेनु परियार (सलिना) ले खेलबाट नेपालको नाम उच्च स्थानमा राख्न सफल भएको विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले बताए । विगतका वर्षदेखि विद्यालयले पुरुषका लागि मात्रै नभई महिलाका लागि पनि विभिन्न खेलहरु संचालन गरेको बताउँदै प्रधानाध्यापक तिवारीले आगामी दिनमा सेनु जस्तै अन्य खेलाडी उत्पादन गर्नतर्फ विद्यालय लागिरहने बताए । बरचुली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा खेलकुद विकास समिति नवलपरासीपूर्वका अध्यक्ष सेतमान पुन प्रमुख अतिथि थिए ।

Write your Comment