आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

स्थिर समयमा प्रचार गरेको पाइए कारबाही गरिन्छ: आयुक्त रामप्रसाद भण्डारी

    प्रकाशित २०७९ कार्तिक २९, मंगलबार (१ साल अघि)


काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई यस बारेमा पुनः सचेत गराएको हो।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए।उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए।

आयुक्त रामप्रसाद भण्डारीले भने, ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गरिन्छ। विगतमा हाम्रो अभ्यासलाई हेर्दा यसलाई मौन अवधि भनेर सम्बोधन गरिएकाे छ। बीचमा हामीले कहाँ छ मौन अवधि? भनेर हेर्दा कतै पनि भेटेनौँ। त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौँ। केही ठाउँमा यो भन्दाअघि शून्य समय भन्यौँ। ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुन्छ। मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ। कुनै पनि प्रकारको प्रचारप्रसारसम्बन्धी वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन। यदि कसैले प्रचारप्रसार गर्‍याे भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ। कडा नै सजाय मान्छ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ। आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ।

Write your Comment