आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा नवलपुरमा अनुगमन

    प्रकाशित २०७९ कार्तिक २७, आईतबार (१ साल अघि)


कावासोती । इन्सेक गण्डकी प्रदेश कार्यालयको टोलीले निर्वाचन पूर्वको अवस्थाको बारेमा नवलपुरमा आइतबार अनुगमन गरेको छ ।
आगामी मंसिर चार गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वको अवस्थाका बारेमा इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकार जिल्लास्थित मुख्य निर्वाचन अधिकृत लगायतसँग छलफल भएको छ ।


छलफलका क्रममा निर्वाचनको तयारी , निर्वाचन आचारसंहिताको कार्यान्वयन कस्तो छ ? मतदाता शिक्षा कसरी अघि बढेको छ ? सुरक्षा व्यवस्था कस्तो छ ? कर्मचारी परिचालन कसरी भएको छ ? भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल भएको हो ।

नेपाल पत्रकार महासंघ नवलपुरमा पत्रकारसँग भएको छलफलमा इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख खकुरेलले मंसिर चार गते हुन गइरहेको निर्वाचन प्रकृया कसरी अगाडि बढेको छ ? भयरहित , स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न गर्न सुरक्षा निकाय , निर्वाचन कार्यालय र समग्र तयारीको अवस्था के छ ? प्रचारप्रसारका क्रममा आचारसंहिताको के कति पालना भइरहेको छ ? भन्ने बारेमा बुझ्न इन्सेकले प्रदेशका विभिन्न जिल्लाहरूमा अनुगमन गरिरहेको बताउनुभयो । यसैक्रममा नवलपुरमा पनि अनुगमन गरिएको बताउँदै उहाँले अनुगमनका क्रममा निर्वाचनलाई स्वच्छ , स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न यहाँ सबै तहबाट उल्लेख्य तयारी सम्पन्न भएको पाइएको बताउनुभयो ।

उहाँले नवलपुरमा पर्यवेक्षण गर्ने पर्यवेक्षकहरूसँग समेत निर्वाचनमा कसरी पर्यवेक्षण गर्ने , कसरी रिपोटिङ गर्ने भन्ने बारेमा समेत छलफल भएको बताउनुभयो । उहाँले इन्सेकबाट निर्वाचनका लागि मुलुकभरि ८ सय , गण्डकी प्रदेशमा ७६ र नवलपुरमा चार जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो । अनुगमनमा निर्वाचनको प्रचारप्रसार पहिले जस्तो तडकभडक नदेखिएको , शान्तिपूर्ण रुपमा आचारसंहिताभित्र रहेर दलहरू प्रचारप्रसारमा लागेको देखिएको बताउनुभयो ।

छलफलमा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले निर्वाचन पूर्व जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नवलपुरमा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना नभएको , शान्तिपूर्ण रुपमा दलहरू प्रचारप्रसारमा लागेको , सञ्चारगृह र सञ्चारकर्मीहरूलाई निर्वाचनका समयमा सहज रुपमा रिपोर्टिङ गर्न र फोटो भिडियो खिच्न पाउने वातावरण मिलाउन समेत महासङ्घबाट पहल भएको जानकारी गराउनुभएको थियो । छलफलका क्रममा सहभागि पत्रकारहरूले विशेष पहाडी क्षेत्रमा मतदातालाई मतदान केन्द्रसम्म पुग्न दश पन्ध्र किलोमिटरसम्म हिनेर पुग्नुपर्ने अवस्था रहेकाले त्यस्ता मतदाताले मताधिकारको प्रयोग गर्नबाट बञ्चित हुने अवस्था , निर्धक्क भएर मत हाल्न नपाउने अवस्था रहेकोमा ध्यानाकर्षण गराउनुभएको थियो । यस्तै निर्वाचन र मतगणनाका समयमा पत्रकारलाई सहज रुपमा फोटो भिडियो खिच्न पाउने वातावरण मिलाउनका लागि पनि ध्यानाकर्षण गराउनुभयो ।

छलफल कार्यक्रममा गण्डकी प्रदेश कार्यक्रम संयोजक शवनम शर्माको पनि सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

Write your Comment