आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

    प्रकाशित २०७९ कार्तिक २६, शनिबार (१ साल अघि)

ज्ञानु पंगेनी,कावासोती । मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनको तयारी नवलपुरमा अन्तिम चरणमा पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । कार्यालय प्रमुख भुसालका अनुसार निर्वाचनका लागि आवश्यक जनशक्ति खटनपटनको काम सबै भइसकेको छ । सबै मतदान अधिकृतहरूलाई तालिम दिने कार्य अहिले सञ्चालन भइरहेको छ । २३ गतेबाट सुरु भएको तालिम २६ गते सम्पन्न हुने छ । मतदानमा प्रयोग हुने सबै सामाग्री प्याकिङको काम पनि अन्तिम चरणमा पुगेको भुसालले जानकारी दिनुभयो । मतदाता नामावली विवरण तयारी भइ सबै स्वीकृत भएको समेत उहाँले जानकारी दिनुभयो ।

यस्तै तयारी अन्तरगत नै जिल्ला निर्वाचन कार्यालयको पहलमा प्रतेक पालिकामा नमुना मतदान अभ्यासका रुपमा कार्य समेत सञ्चालन भएको उहाँले बताउनुभयो । मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र मंसिर एक गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । कम्तिमा १५ जना व्यक्तिलाई एउटा ब्रोसर पर्नेगरि मतदाता शिक्षा सामाग्री उपलब्ध गराइएको छ । एसइइ पास गरेको स्वास्थ्य स्वयम् सेविका मार्फत् मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

आचारसंहिता कार्यान्वयनका निम्ति विभिन्न राजनीतिक दल तथा उम्मेदवारसँग छलफल तथा अन्तरकृया , पत्रकारलाई अभिमुखीकरण समेत सम्पन्न भएको उहाँको भनाई छ ।
निर्वाचन कार्यालय प्रमुख भुसालका अनुसार संघ र प्रदेश तर्फ आवश्यक प्रत्यक्ष तर्फको मतपत्र जिल्लामा आइपुगेको छ । संघ तर्फ नवलपुर १ का लागि कुल १ लाख ४५ हजार , प्रदेशतर्फ १ (क) का लागि ७० हजार, १ (ख) का लागि ७५ हजार गरि कुल २ लाख ९० हजार थान मतपत्र जिल्लामा आएको छ ।

संघ निर्वाचन क्षेत्र २ का लागि १ लाख ४३ हजार ,प्रदेशतर्फ २ (क) का लागि ७१ हजार र २ (ख)का लागि ७२ हजार मतपत्र गरि कुल २ लाख ८६ हजार मतपत्र नवलपुर आइपुगेको कार्यालय प्रमुख भुसालले बताउनुभयो । सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा प्रबन्ध सहित राखिएको उहाँले बताउनुभयो ।

दुई संघ र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४६१ मतदाता रहेका छन् । जसमा संघ निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार १८१ र २ तर्फ १ लाख २९ हजार २८० मतदाता रहेका छन् । बैशाखमा सम्पन्न निर्वाचन पछि नवलपुरमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन् ।

 

Write your Comment