आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

प्रगतिनगर साना किसानको अध्यक्षमा काफ्ले सर्वसम्मत चयन

    प्रकाशित २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)

देवचुली। प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा रुमाकला काफ्ले सर्वसम्मत चयन हुनुभएको छ । दलदलेको सहारा पार्टी प्यालेसमा भएको आठौं साधारण सभा तथा दोस्रो अधिवेशनबाट काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको निर्वाचन मण्डलका संयोजक दुर्गादेवी विष्टले जानकारी दिनुभयो। काफ्ले दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो।

अधिवेशनबाट संस्थाको उपाध्यक्षमा कमला भटराई, सदस्यहरुमा जानुका लम्साल, अनिता मिश्र बस्याल, नमकला भुसाल, सीता पराजुली, गुमादेवी तिवारी, कृष्णमाया आले, र लिलादेवी न्यौपाने चयन भएका छन् । त्यस्तै अधिवेशनबाट लेखा समितिको संयोेजकमा बालकुमारी रिमाल, सदस्यहरुमा सम्झना आचार्य र रेनुका भुसाल चयन भएका छन् ।

उदघाटन सत्रमा नगर प्रमुख हरिप्रसाद न्यौपानेले सहकारीका माध्यमवाट आयआर्जनमा जोड्दै बचत मार्फत महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन सक्नु साना किसानको सकारात्मक पक्ष भएको बताउनुभयो ।अधिकांश सहकारीले ऋण प्रवाह, असुली र बचतजन्य आर्थिक गतिविधिमा मात्रै ध्यान केन्द्रित हुँदा वास्तविक रुपमा आर्थिक पाटो सबल बने नबनेको विषयको निर्क्यौल गर्न कठिन भएको अवस्थामा प्रगतिनगर साना किसान कृषि सहकारीले कृषि क्षेत्र र कृषकका लागि सैद्धान्तिक-प्रयोगात्मक तालिम दिनु, विभिन्न दाता संस्थाहरुको खोजी गरी अनुदान वितरण गर्नुले कृषकलाई हौसला प्रदान गरेको आफूले महसुस गरेको बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष रुमाकला काफ्लेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा देवचुली १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल,१३ का अध्यक्ष एकदेव पौडेल, प्रगतिनगर खानेपानी संस्थाका उपाध्यक्ष दुर्गादेवी बिष्ट र संस्थाका सल्लाहकार ईन्द्रमणी भुसालले बोलेका थिए ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, भावी कार्ययोजना, आर्थिक प्रतिवेदन, आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत भएको थियो । उदघाटन सत्रमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल तथा वृद्ध बचतकर्ता, उत्कृष्ट व्यवसायी, व्यापार व्यवसाय दैनिकी र धितो कारोवार नियमिततर्फ र उत्कृष्ट किसान गरी १० जनालाई संस्थाले पुरस्कृत गरिएको थियो।

Write your Comment