आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

द्वारिका नेपाल गजल स्मृति पुरस्कार गजलकार मुक्त उदासलाई

    प्रकाशित २०७९ आश्विन २४, सोमबार (१ साल अघि)


भरतपुर । युवा गजलकार मुक्त उदास सम्मानित हुने भएका छन् । गजल मञ्च चितवनले पहिलोपटक प्रदान गर्न लागेको `द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०७९´ युवा गजलकार उदासलाई दिने निर्णय गरेको हो ।पुरस्कारको राशी १०,०००/- रुपैयाँ र सम्मानपत्र रहेको छ ।

गजल मञ्च चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्कघातका कारण निधन भएको थियो । `उहाँको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरि प्रदान गर्न लागिएको हो´, गजल मञ्च चितवनका कार्यबाहक अध्यक्ष लेखराम सापकोटाले भने- `द्वारिका सरको सम्मानका लागि यो पुरस्कार स्थापना गरेका हौँ, नेपाली गजलका क्षेत्रमा योगदान दिएका युवा प्रतिभालाई छनोट गरेर हरेक वर्ष यो पुरस्कार प्रदान गरिनेछ ।´ गजल मञ्च चितवनको नाममा कोष बनाएर सोही कोषबाट प्राप्त भएको वार्षिक ब्याजको रकमलाई पुरस्कारमा प्रयोग गरिने पनि सापकोटाले बताए ।

यो पुरस्कार आगामी शनिबार असोज २९ गते भरतपुरमा कार्यक्रम आयोजना गरि प्रदान गरिनेछ । कार्यक्रममा गजलकार उदासले गजल वाचन गर्नेछन् । सोही दिन गजल मञ्च चितवनको अधिबेशन पनि हुँदैछ ।

चितवनको कालिका नगरपालिका -९ शक्तिखोर निवासी उदास डेढ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनले थुप्रै गीतहरू पनि लेखेका छन् । पिंजडा ब्याक अगेन, मेला र झिंगेदाउ जस्ता चलचित्रका लागि पनि उनले गीत लेखेका छन् ।

Write your Comment