आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

पहिरोका कारण नवलपुरको पहाडी क्षेत्रमा यातायात अवरुद्ध

    प्रकाशित २०७९ आश्विन १९, बुधबार (१ साल अघि)


देवचुली । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा संचालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले-कुमसोत-पोखरी खण्ड अन्तरगत हुप्सेकोट गाउँपालिका –५पाङ्ग्रेमा खसेको पहिराको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताउनुभयो ।

आज बिहानबाट अविरल वर्षाका कारण खसेको पहिराले बाटो अवरुद्ध भएपछि पहाडी क्षेत्रमा संचालन हुने यातायात पूर्ण रुपमा ठप्प बनेको छ । नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिराले अवरुद्ध भएपछि दललदले बाट पहाडी क्षेत्रमा छुटेका र पहाडी क्षेत्रबाट दलदले तर्फ छुटेका सवारी पाङ्ग्रे क्षेत्रमा रोकिएका छन् ।जिल्लाको बौदिकाली, बुलिङटार सहित हुप्सेकोटका केही भागको मुख्य नाका मानिने दलदले -कुमसोत-पोखरी खण्ड पहिराले रोकिँदा यात्रुहरु बिचबाटोमा अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल बाटो संचालनमा कठिनाइ रहेको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो ।

यसै बिच पाङ्ग्रेमा झरेको पहिरामा एउटा जिप परेको लेकबेसी यातायात समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिनुभयो । पाङ्ग्रे क्षेत्रमा झरेको पहिरामा गण्डकी प्रदेश –०४–००१ ज ००६ नम्बरको जिप परेको हो । राइकोटबाट दलदलेका लागि छुटेको जिप पहिरामा पुरिएको उहाँले बताउनुभयो । जिपमा सवार सबै यात्रुहरुभने सकुशल रहेको उहाँले बताउनुभयो । पानी परिरहेको र पहिरोका कारण यात्रा जोखिमपूर्ण हुने भएकाले बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ । उहाँले यात्रा जोखिमपूर्ण हुने भएकाले यातायात व्यवसायीलाई यातायात संचालन नगर्न समेत आग्रह गर्नुभएको छ ।

Write your Comment