आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

दशैँसँगै बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

    प्रकाशित २०७९ आश्विन १६, आईतबार (१ साल अघि)

नवलपुर । नेपालीहरूको महान पर्व बडा दशैँसँगै पर्यटकीय क्षेत्रहरूमा चहलपहल देखिएको छ । यस अघि सुनसान जस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बढेको छ । दशैँको अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
नवलपरासी –बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दशैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्राय सुनसान जस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाँप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्रहरू त्रिवेणीधाम, मौलाकालीका, दाउन्ने, शाश्वतधाम , अकलादेवी , गंगेश्वरधाम , अमलटारी, कुमसोत , धौवादी ,पोखरी ताल, लगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाको नारायणी तटीय क्षेत्र सहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृत रुपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित रहेको छ । वर्षाको समयमा सुनसान बनेको यस क्षेत्रमा दशैँसँगै पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । ‘वर्षापनि थियो ,घुमफिरको समय सुरु भएको थिएन, अब दशैँ सँगै घुमफिरका लागि आउनेहरू बढ्ने संकेत देखिएको छ’ महतोले भन्नुभयो ‘अहिले चहलपहल बढेको छ ।’

नवलपुरका धार्मिक पर्यटकीय क्षेत्रमा खास गरि पर्यटकको उपस्थिति बढेको छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मौलाकाली, त्रिवेणीधाम, दाउन्ने , शाश्वत धाम, अकला देवी, गलेश्वरधाममा पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ ।धार्मिक पर्यटकीय क्षेत्र बाहेक प्राकृतिक स्थानहरू कुमसोत , झरना खोला, धौवादी , नारायणी तटीय क्षेत्रमा समेत आन्तिरक पर्यटकको संख्या बढ्न थालेको छ ।

जिल्लाका पर्यटकीय क्षेत्रमा लगभग सबै जसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । चाडबाडमा घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रर्वद्धनमा समेत सहयोग पुग्न थालेको छ । पछिल्ला केही वर्षबाट मुख्य चाड सुरु भएपछि हुने बिदाको अवसरमा घुम्ने संस्कृति विकास हुँदै जान थालेको छ । यसले पर्यटन क्षेत्रका व्यवसायी समेत उत्साहित बनेका छन् । कावासोती-१५ मा होटल सञ्चालन गर्नुभएको जितनारायण थनेत भन्नुभयो ‘दशैँसँगै घुमफिरका लागि हिड्नेको जमात बढ्दै छ, मानिसहरू घुमफिर रुचाउन थालेका छन्, यसले पर्यटकीय क्षेत्रको प्रर्वद्धनसँगै यस क्षेत्रमा लगानी गर्ने व्यवसायीसमेत उत्साहित हुन थालेका छन् ।’
रासस

Write your Comment