आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

दुम्कौली अस्पतालमा निजी प्रयोगशालाको रसिद : स्वास्थ्य बिमितले तिर्छन् थाइराइड परिक्षणको १ हजार

    प्रकाशित २०७९ आश्विन १०, सोमबार (१ साल अघि)


खगेन्द्र पराजुली ,नवलपुर। देवचुलीको नगर अस्पताल दुम्कौली अस्पतालमा थाईराईड परिक्षण गर्ने मेसिन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । मेसिन नहुँदा टाढा जानुपर्ने वा निजी प्रयोगशालामा चर्को मुल्य तिरेर परिक्षण गर्नुपर्ने विरामी तथा सेवाग्राहीको बाध्यता रहेको छ ।

सरकारले नागरिकको स्वास्थ्य सुरक्षणका निम्ति भनेर परिवार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । तर, सरकारी अस्पतालबाट उपलब्ध हुने बिमा कार्यक्रमको मापदण्डभित्र परेका परिक्षणमा सरकारी अस्पतालबाटै निजी प्रयोगशालासँग अघोषित सहकार्य गरेर अस्पतालका स्वास्थ्य कर्मचारीले बिरामीसँग शुल्क लिने गरेका छन् ।

सरकारी अस्पतालको प्रयोगशालामा कावासोती ८ इन्द्रचोकमा रहेको निजी प्रयोगशाला स्वस्तिक प्याथ ल्यावको रसिद जस्तै प्रेषण पुर्जी काटेर परिक्षण शुल्क भन्दै एक हजार रुपैंयासम्म लिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

अस्पतालमा थाइराईड परिक्षण गर्ने मेसिन नभएकाले बिरामीलाई चेकजाँचका लागि अन्यत्र सिफारीस गर्नुपर्ने वा रगतको नमूना संकलन गरेर निजी प्रयोगशालामा पठाउनु परेको अस्पतालको बाध्यता रहेको अस्पताल प्रमुख चित्रबहादुर सुनारले बताउनुभएको छ । वहाँले मासिक २ सय हाराहारी थाईराईडसँग सम्बन्धित बिरामी दुम्कौली अस्पतालमा आउने गरेको बताउनुभयो ।

उहाँले सेवाग्राही विरामीलाई छिटो छरितो सेवा दिनका लागि निजी प्रयोगशालासँग समन्वय गरिएको तर रिफर चाहने बिरामीलाई उहाँहरुले चाहेकै अस्पतालमा प्रेषण गरिएको बताउनुभयो ।अस्पतालका प्रमुख सुनारले स्थानीय सरकारसमक्ष पटक–पटक मेसिन उपलब्ध गराउन माग गरेको तर मेसिन नआएको बताउनुभयो ।

उहाँले बिमा पोलिसीले सिफारीस गरेका करीव ११ सय औषधिमध्ये दुम्कौली अस्पतालबाट अधिकांश औषधि उपलब्ध हुने गरेको सुनाउनुभयो । मध्यविन्दु जिल्ला अस्पताल वा भरतपुर सरकारी अस्पतालमा औषधि मौज्दात नहुँदा त्यहाँका बिरामीले समेत औषधिको सेवा दुम्कौलीबाट लिएको बताउनुभयो ।

सेवाग्राहीले भने डाक्टरले चेकजाँचपछि सिफारीस गरेका औषधि औषधि कक्षबाट पुरा मात्रामा नपाईने, कुनै औषधि छैन बाहिर किन्नुस् भन्ने, थोरै औषधि दिएर दुई दिनपछि लिन आउनुस् भन्दा हैरानी हुने गरेको बताउँछन् ।

अस्पताल प्रमुख सुनारले सकेसम्म सेवाग्राहीलाई औषधि पाईएन भनेर निराश नगराएको बताउँदै एक–दुई जनाले खाने, सटेज औषधि बाहेक बहुसंख्यक बिरामीले सेवन गर्ने औषधि उपलब्ध गराएर सेवा प्रदान गरिएको बताउनुभयो ।

Write your Comment