आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपरासी पूर्वका तीन नगरपालिकाले सार्वजनिक गरे १०० दिनका काम

    प्रकाशित २०७९ भाद्र २२, बुधबार (१ साल अघि)


नवलपुर। नवलपरासी पूर्वका तीन नगरपालिकाले जनप्रतिनिधिको १ सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० पछि कार्यसम्हालेका जनप्रतिनिधिहरुले १ सय दिनका उपलब्धिहरु सार्वजनिक गर्न थालेका हुन् । चार नगरपालिका र चार गाउपालिका रहेको नवलपरासी पूर्वमा तीन नगरपालिकाका जनप्रतिनिधिले आफ्नो १ सय दिनको कार्य प्रगति सार्वजनिक गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका र गैडाकोट नगरपालिकाले १ दिनका उपलव्धीहरु सार्वजनिक गरेका हुन् ।
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले निर्वाचित भएपश्चातका उपलब्धिहरु सार्वजनिक गर्दै नागरिक सेवा केन्द्रको स्थापना गरी नागरिकलाई सहज सेवा दिएको उल्लेख गर्नु भयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्रत्येक महिना घरघरमै पुगेर स्वास्थ्य जाचँ गर्ने ,अवैध रुपमा उत्खन्न गरिएको बस्तुलाई प्रहरीको रोहबरमा नियन्त्रण गर्ने कार्य १ सय दिनका महत्तोपुर्ण प्रगति रहेको मध्यविन्दु नगर प्रमुख अधिकारीको भनाई छ ।

त्यसैगरी देवचुली नगरपालिकाका नगर प्रमुख हरी प्रसाद न्यौपानेले आफुहरु निर्वाचित भए पछिको १०० दिनमा जेष्ठ नागरिकहरुको घरघरमा गई स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम सुरुवात गरिएको वताउनु भयो । नगरपालिकाले देवचुली स्वास्थ्य चौकीलाई पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको, ट्रमा सेन्टरको लागि जग्गा व्यवस्थापन कार्यदल बनाइएको, कृषि र पशुपालनलाई बढावा दिई दुध, मासु र खाद्यन्नमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवस्थित योजना निर्माण गरिएको, अनलाईन क्युआर कोर्ड बाट राजश्व तिर्न मिल्ने कार्य गरिएको देवचुली नगरपालिका प्रमुख न्यौपानेले बताउनुभयो ।

त्यसैगरी गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले १ सय दिनका उपलव्धीहरुलाई ७२ वुदामा समेट्दै जनजिविकाका सवाललाई प्राथमिकता दिईएको वताउनु भयो । “नगरभित्रका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन लगायत व्यवस्थापनका लागी नगरपालिकामा सेवा केन्द्र स्थापना गरिएको छ” प्रमुख अधिकारीले भन्नु भयो “ ४ हजार ५ सय १० भूमिहिन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न प्रक्रिया अघि बढाइएकोे छ। ” (रासस)

Write your Comment