आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा बन्दको आंशिक प्रभाव

    प्रकाशित २०७९ भाद्र ७, मंगलबार (१ साल अघि)


नवलपुर । नवलपुर जिल्लामा बन्दको प्रभाव आंशिक देखिएको छ । नेकपा माओवादी विप्लव समूहले अत्याधिक महँगी , भ्रष्टाचार बढेको , पेट्रोलियम पदार्थको मूल्य नघटाएको लगायतका माग राखि आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दका कारण नवलपुर जिल्लाका अधिकांश बजार क्षेत्र प्रभावित भएका छन् । जिल्लाको गैंडाकोट , रजहर , दलदले , कावासोती , डण्डा , चोरमारा , अरुणखोला, दुम्किबास लगायतका राजमार्ग जोडिएका मुख्य बजारमा अरु दिन जस्तो एकाबिहानै त्यति चहलपहल देखिएको छैन ।

पूर्ण रुपमा पसलहरु बन्द पनि छैनन् र अन्य दिन जस्तो पूर्ण खुल्ला पनि छैन । राजमार्गमा गुड़ने लामो दुरीका सवारी साधन भने आज देखिएका छैनन् । छोटो दुरीका गाडी पनि फाट्टफुट्ट मात्र देखा परेका छन् भने निजी गाडी र मोटरसाईकल भने चलेको देखिन्छ । ठाउँ ठाउँमा हुन सक्ने अराजक गतिविधि रोक्न प्रहरीले गस्ती बढाएको नवलपुर प्रहरीले जानकारी दिएको छ । जिल्ला भर हालसम्म कुनै पनि अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ ।

सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै आजको लागि नेपाल बन्दको घोषणा गरेको हो । तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल नेकपा माओवादी समाजवादी ले नेपाल बन्दको घोषणा गरेका हुन ।

बन्दका कारण जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरु प्रभावित भएका छन् । प्राप्त सूचना अनुसार जिल्लाका सबैजसो संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।संस्थागत विद्यालयहरुले विशेष कारण तथा असहज परिस्थिती उत्पन्न भएकोले आजका लागि पठनपाठन बन्द रहने कुरा जानकारी गराइएको छ भन्ने सूचना जारी गरेका छन् ।

Write your Comment