आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी कावासोतीमा अन्तरक्रिया

    प्रकाशित २०७९ श्रावण २७, शुक्रबार (१ साल अघि)

नवलपुर । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा कावासोतीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अभिमुखीकरण गर्दै दिवस मनाएका हुन् । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालित किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरुले कावासोती नगरपालिका वडा नं. १५ मा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा अभिमुखीकरण र छलफलको आयोजना गरेका हुन् ।

समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा खुल्ला रुपमा छलफल नगर्ने प्रचलन रहेकोले सो न्युनीकरणको लागि बालबालिका, युवा र समुदायका अगुवाहरु सहितको अन्तरपुस्तालाई लक्षित गरी स्वयम किशोरीहरुद्धारा नै सो अभियान सुरु गरेको किशोरी शसक्तिकरण कार्यक्रमकी सहजकर्ता राधादेवी बोटेले बताइन्।आज पनि बच्चा जन्माउने विषयमा समय र जन्मान्तरमा महिलाहरुको समेत अधिकार रहेको स्थानीय स्तरमा रहेकालाई थाहा छैन, त्यसकारण हामी आजका किशोरीहरु र भोलीका आमाहरुलाई नेतृत्वमा ल्याई यो विषयमा खुल्ला रुपमा बहस र पैरवीको लागि पहल गरेको उनले बताइन् ।

सुरु सुरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा महिलाहरुको समेत समान अधिकार रहेको र यो खुल्ला बहस र छलफल गर्नुपर्दछ भन्दा सबैले हाँसेर नसुन्ने प्रचलन रहेको र उल्टो विभिन्न उपनाम र विम्बहरु प्रयोग गरेर जिस्काउने गरेका समुदायका मानिसहरु र साथिहरुले आजकल केही समस्याहरु आयो आफुलाई भन्ने गरेको कावासोती ९ की किशोरी अभियन्ता मान्सु न्यौपानेले बताइन्।

आजको कार्यक्रममा आफ्नै उमेर समुहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारीहरु दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफुले नजानेको विषयहरु सोध्न पाएकामा निकै खुसी लागेको कार्यक्रममा सहभागि किशोरी शुभेच्छा पाण्डेले बताइन्।महिनावारी प्राकृतिक प्रकृया रहेकोले यसको बारेमा खुल्ला बहस र सचेतना आवश्यकता रहेको उनले बताइन् ।

महिनावारी, यौन र बच्चा जन्माउने विषय त गफ नै गर्न नहुने जस्तो गर्नेहरु अहिले परिवर्तन भएको देख्दा र आफुलाई पनि सोध्दा समाज परिवर्तनशिल हुँदै रहेको कावासोती १५ की अर्की किशोरी अभियन्ता सविना पाण्डेले बताइन्।

जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा कावासोतीका १७ वडामा ३५ जना १३ देखी १९ उमेर समुहका किशोरीहरुलाई विभिन्न विषयको तालिमहरु प्रदान गरी उनीहरुको मार्फतबाट समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् ।

आजको कार्यक्रममा समुदायस्तरका किशोर किशोरीहरु र आमा समुहका ३५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा किशोरी अभियन्ताहरु मान्सु न्यौपाने, सविना पाण्डे, खिमा मुसहर र ओमकला बोटेले सहजिकरण र छलफल गरेका थिए।

Write your Comment