आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

इन्जा डे मा पाँच पत्रकार पुरस्कृत , तीन अग्रज पत्रकार सम्मानित

    प्रकाशित २०७९ श्रावण १४, शनिबार (१ साल अघि)

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाको बार्षिकोत्सब इन्जा डे को अबसरमा इन्जा खोजी पत्रकारिता पत्रकारिता पुरस्कार , इन्जा ग्रामीण पत्रकारिता पुरस्कार , इन्जा बौद्धिक पत्रकारिता पुरस्कारलाई बितरण र अग्रज पत्रकारलाई सम्मानका साथ बिशेष कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ ।

समारोहमा एक लाख राशी सहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकी , ५०/५० हजार राशी सहितको इन्जा ग्रामीण पत्रकारिता पुस्कार दीपाकुमारी कर्ण र रेडियो मेलम्ची एवं ५०/५० हजार सहितको इन्जा बौद्धिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिवि पत्रकारिता विभागका उपप्रध्यापक देवराज अर्याललाई प्रदान गरिएको छ । त्यसैगरी वरिष्ठ पत्रकार हरि लम्साल , अग्रज पत्रकार गोपालचन्द्र शर्मा , संचारिका समुहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई सम्मान गरिएको छ ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाका केन्द्रिय उपाध्यक्ष एवं एशियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा भएको विशेष समारोहका प्रमुख अतिथि संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुरस्कार वितरण एवं सम्मान गर्देै विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुको हकहित र समृद्धिका लागि इन्जा जसरी लागेको छ त्यसले नेपाल सरकार प्रभावित भएको उल्लेख गर्नुभयो । सक्रिय र अग्रज पत्रकारहरुको रहेको इन्जाले नेपाली पत्रकारहरुलाई पुरस्कृत र सम्मान मात्र होइन कोभिडका समयमा होस वा अन्य जटिल रोग लागेका पत्रकारलाई ठुलो राहत प्रदान गरेको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले आगामी दिनमा नेपाली पत्रकारहरुका लागि थप सहयोग हुने कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्नुभयो । तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील इन्जा एशियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्त सहितका सक्रिय पत्रकारहरु इन्जामा हुनु आफैमा गौरवको कुरा हो भन्दै मन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई मर्दा र पर्दा सहयोग गर्ने इन्जाको लक्ष्यलाई संस्थाले व्यवहारमै देखाएको उल्लेख गर्नुभयो ।

इन्जाका केन्द्रिय अध्यक्ष गुणराज लुँइटेलले अमेरिकाबाटै भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपाली पत्रकारहरुका लागि इन्जा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा भएको विशेष कार्यक्रमले आफुहरु उत्साहित भएको भन्दै सबैसंग सहकार्य गरेर इन्जा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले नेपाली पत्रकारहरुका लागि विभिन्न समस्यामा साथ दिने गरेको इन्जाले पत्रकारहरुलाई जसरी पुरस्कृत र सम्मान गर्ने गरेको त्यो उदाहरणीय भएको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्साल , प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत , समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ , मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिह र न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खडकाले प्रेस स्वतन्त्रता , अभिव्यक्ति स्वतन्त्रता , पत्रकारहरुको समृद्धि एवं विकास र पत्रकारहरुलाई निकै अप्ठयारो परेको समयमा आर्थिक सहयोग समेत गर्ने संस्थाको रुपमा इन्जा सक्रिय भएको भन्दै थप सफलताको कामना गर्नुभयो ।

इन्जा एशियाका अध्यक्ष टंक पन्तले इन्जा केन्द्रबाट अध्यक्ष गुणराज लुइटेल , उपाध्यक्ष किशोर सापकोटा , विष्णु शितल , शिब बिष्ट, वरिष्ठ पत्रकार एवं सल्लाहकार तीर्थ कोइराला , घमराज लुइटेल , त्रिवि पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरन्जिवी खनाल , लेखन कुञ्जका अध्यक्ष कमल ढकाल लगायतका केन्द्र देखि एशिया महादेशका साथीहरुको ठुलो सहभागिता र सहयोगले इन्जा अगाडि बढन सकेको जानकारी गराउनुभयो । सचिव दिपक रिजालले धन्यवाद ज्ञापन गर्नुभएको विशेष समारोहको संचालन इन्जा एशियाका सचिव दिपु पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकारहरु र अधिकांश मिडिया हाउसका गरी करीब डेढ सय पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा इशिका पन्त र रीति रिजालले स्वागत गर्नुभएको थियो ।

Write your Comment