आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

सञ्चार माध्यमसँगकाे समन्वय सहकार्यबाट विकास निर्माणले गति लिन्छ : सासंद महत

    प्रकाशित २०७९ श्रावण ८, आईतबार (१ साल अघि)


ज्ञानु पंगेनी ,कावासोती । संघीय सासंद तिलक महतले जनप्रतिनिधि र सञ्चारमाध्यमसँग समन्वय र सहकार्यमा विकास निर्माणले गति लिन सक्ने बताउनुभएको छ ।

जनताले चुनेका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारप्रसार गरेर जनतासम्म पुर्‍याउने र गलत गरेमा खबरदारी गर्ने काम सञ्चार माध्यमले गर्ने भएकाले सञ्चारमाध्यमसँग जनप्रतिनिधिले सहकार्य र समन्वय गरेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।नवलपुरको कावासोतीमा शनिबार प्रेस चौतारी नेपाल नवलपुर शाखाको आयोजनामा भएको स्थानीय तहको विकासमा जनप्रतिनिधि र सञ्चारको भूमिका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले भर्खर निर्वाचित स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सञ्चार माध्यम सबैको घरघरमा सूचना पुग्ने बलियो माध्यम रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण पौडेलले पत्रकारिताको आँखा कोही नपुगेका ठाउँमा पुग्ने भएकाले समाज परिवर्तन र विकासमा सञ्चारमाध्यमको अहम् भूमिका हुने बताउनुभयो । जनतालाई सुसूचित गर्ने , राम्रा कामलाई जनताबीचमा पुर्‍याउने र आगामी दिनमा जनतालाई सशक्तीकरण गर्ने कुरामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा उहाँको जोड थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले हरेक निर्वाचनका बेला सञ्चारको माध्यमबाट नै आफ्ना कुरा जनता समक्ष पुर्‍याएका कारण आफूले जित्न सफल भएको बताउनुभयो । उहाँले आफूले गरेका प्रतिबद्धता र आफ्ना विचारहरू जनता समक्ष सञ्चार माध्यमबाट नै पुगेकाले जनताको मत पाउन सफल भएको उहाँले बताउनुभएको छ ।

यसैगरी जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले आफू जिससमा आएपछि कार्यालयभित्र रहका धेरै कुराहरु जनताको बीचमा जान नसकेको र ओझेल परेको महसुस गरेको बताउनुभयो । उहाँले ग्रामीण भेगमा बस्ने सोझासाझा जनताको पक्षमा काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटीका उप सचिव भिमलाल कँडेलले स्थानीय तह निर्वाचनमा प्रेस चौतारीमा आबद्ध सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण नै आज नतिजा राम्रो भएको जिकिर गर्नुभयो । उहाँले सञ्चारको माध्यमबाट नेकपा एमालेका उम्मेदवारका कुराहरू जनता समक्ष पुगेको हुनाले नै जनताले मत दिएको उहाँको भनाई थियो ।

बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले आफूहरू जिल्लाको विकट क्षेत्रमा रहेका कारण ओझेलमा पर्दै आएको बताउनुभयो । उहाँले सञ्चार माध्यम समेत दूरदराज पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा समेत पत्रकार निर्माण गर्ने कुरामा आफू सकारात्मक रहेको र यसका लागि प्रेस चौतारीसँग समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।

बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले आफूले काम गर्ने सिलसिलामा धेरै कुरा सिक्नुपर्ने भएकाले आउँदा दिनमा सञ्चार माध्यमसँगको समन्वय सहकार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले स्थानीय तहले खेल्नुपर्ने भूमिकामा सदैव सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले समाजमा ऐनाको रुपमा काम गर्न समेत सुझाव दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिमाल देव पंगेनीले निर्वाचित जनप्रतिनीधीलाई सञ्चार माध्यमसंग सदैव सहकार्य गर्न सुझाव दिनुभयो । उहाँले सञ्चार माध्यम र सञ्चारकर्मीको संरक्षण र विकासका लागि क्षमता अभिवृद्धि तथा आवश्यक बजेट विनियोजन गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय तह र विकासका सन्दर्भमा खिमानन्द भुसालले सहजीकरण गर्नुभएको थियो भने स्थानीय तह निर्वाचनमा प्रेस चौतारीले खेलेको भूमिकाका बारेमा कोषाध्यक्ष राजु चापागाईले सहजीकरण गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल नवलपुरले जिल्लाको कावासोती , मध्यविन्दु , देवचुली नगरपालिका , बिनयी त्रिवेणी , बौदीकाली र बुलिङटार गाउँपालिकाको स्थानीय तहमा विजयी हुनुभएका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखलाई सम्मान गरेको थियो ।

शाखा अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दयाराम आचार्यले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष ज्ञानु पंगेनीले स्वागत मन्तव्य राख्नुभएको थियो । समापन प्रेस चौतारीका इन्चार्ज बिद्रोही गिरीले गर्नुभएको थियो ।

Write your Comment