आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा डल कुशन निर्माण तालिम सम्पन्न

    प्रकाशित २०७९ अषाढ १३, सोमबार (२ साल अघि)


देवचुली । देवचुलीमा १५ दिनसम्म संचालित डल कुशन तालिम आइतबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत डल कुशन तालिम प्रदान गरिएको हो । देवचुलीमा मेड्पा कार्यक्रम अन्तर्गत सहभागी महिलाहरूको मागको आधारमा डल कुशन निर्माण तालिम संचालन गरेको र महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धि गरि स्वरोजगार बनाउनुका साथै उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताउनुभयो । जेठ २९ गतेदेखी संचालन भएको तालिममा २० जना सहभागिता रहेको सापकोटाले बताउनुभयो ।

मेड्पा अन्तर्गत यस आर्थिक वर्षमा नयाँ लघु उद्यम सिर्जनातर्फ देवचुली ७ मा सिलाई कटाई तथा ब्युटीपालर तालिम, देवचुली ८ मा बङ्गुर बाख्रापालन तालिम,देवचुली ९ मा चुरा पोते झुम्का निर्माण तालिम र देवचुली १६ मा चप्पल बनाउने तालिम प्रदान गरिएको हो । त्यस्तै स्तर उन्नति तर्फ देवचुली २ मा चुरा पोते झुम्का निर्माण तालिम, देवचुली ५ र १७ मा डल कुशन निर्माण तालिम प्रदान गरिएको हो । नयाँ लघु उद्यम सिर्जना अन्तर्गत १०० जना सहभागी भएका थिए भने स्तर उन्नतितर्फ ४० जना सहभागी रहेको सापकोटाले बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै सहभागी निरा पौडेलले नगरपालिकाले आयोजना गरेको कार्यक्रम आफुहरुका लागि निकै उपलब्धिमुलक रहेको र प्राप्त गरेको सीपको सही प्रयोग गर्ने बताउनुभयो । त्यस्तै सहभागी हरिकला पुरीले आफ्नो समुहले माग गरेको तालिम ढिलो हुँदा हुदैन कि भन्ने लागेको थियो तर सहभागी हुने अवसरसँगै सीप प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिनुभएको थियो । पुरीका अनुसार सहभागिहरु तालिममा १५ दिनसम्म नियमित सहभागी भई सबैले गुडिया,कुशनहरु राम्रोसँग बनाउन सक्ने भएको र आफुहरुले बनाएका सामग्रीहरु बजारमा बिक्री गर्ने गरि योजना बनाएका छन ।

देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले तालिममा सिकेका सीपहरुलाई उपयोग गरि स्वरोजगार बन्न सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । आगामी दिनमा सहभागीहरु निरन्तर रुपमा सक्रिय हुँदै काम गर्न र आवश्यक सीपका लागि नगरपालिकालाई माग गर्दा नगरको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देवचुली १७ का १९ महिलाहरुलाई १५ दिनसम्म डल कुशन बनाउने सीपका बारेमा तालिमको प्रशिक्षक सुनिता बि. क. ले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागी मध्ये मागका आधारमा ९ जनालाई कपडा सिलाउने मेसिन समेत हस्तान्तरण गरिएको थियो ।

देवचुली नगरपालिका वडा न १७ का अध्यक्ष गणेश शर्मा चालिसेको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटा,लेखा अधिकृत विनोद अर्याल , देवचुली नगरपालिका वडा १७ कि वडा सचिव ईश्वरी चालिसे,मेड्पा उद्यम विकास सहजकर्ता संगिता खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता जितबहादुर बि.क.ले गर्नुभएको थियो ।

Write your Comment