आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा ट्याक्टर जोताईको मूल्य निर्धारण

    प्रकाशित २०७९ अषाढ ७, मंगलबार (२ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिकामा ट्याक्टरको जोताई प्रतिघण्टा २५ सय रुपैयाँ कायम गर्ने सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टर व्यवसायी संघका पदाधिकारी ,कृषक र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट मूल्य निर्धारण गरिएको हो । हाल डिजेलको मूल्य १९२ रुपैयाँ रहेको र डिजेलको मुल्य प्रतिलिटर २० रुपैयाँ बढ्दा वा घट्दासम्म ट्याक्टरको कल्टी र हाईरोद्वारा जोताईको प्रतिघण्टा २५ सय र रोलाभेटरको प्रतिघण्टा २६ सय कायम गरिएको हो ।

ईन्धनको मूल्य वृद्धिले गर्दा ट्याक्टर जोताईमा फरक फरक मूल्य हुँदा किसानहरुमा परेको मारलाई सहजीकरण गर्न नगरभित्र ट्याक्टरको मूल्य एकरुपताका गर्नका लागि देवचुली नगरपालिकाले छलफल आयोजना गरेको हो ।देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा नगर उप प्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले , प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल ,कार्यपालिका सदस्यहरु,ट्याक्टर व्यवसायी संघका पदाधिकारीहरु र कृषकहरूको प्रतिनिधिहरु बीच छलफल गरिएको हो ।


बढ्दो ईन्धनको मूल्य वृद्धिले व्यवसायीहरुलाई समस्या रहेता पनि रोपाइँको समयमा किसानहरुलाई ट्याक्टरको जोताईको मूल्य निर्धारणले सहज हुने गरि आपसी समन्वय कायम राख्नुपर्ने भएकाले नगरपालिकाले छ्लफल मार्फत रकममा एकरुपता गरिएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि किसानहरुका लागि आवश्यक योजनाहरु राखिएको र आपसी समझदारीमा कार्यक्रम गरिने नगर प्रमुखले बताउनुभयो । उहाँले किसानसँगै व्यावसायीहरुको समस्या समाधान गर्नका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।

देवचुली नगरपालिका भित्र रोपाइँको समय भैरहेको समयमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिले गर्दा ट्याक्टरको मूल्य नगर भित्र एउटै कायम गर्नका लागि नगरपालिकाले छलफल आयोजना गरेको नगर उप प्रमुख पार्वता तिवारीले बताउनुभयो ।

छलफल कार्यक्रममा देवचुली ५ का कृषक ठाकुरप्रसाद पोखरेलले ट्याक्टर व्यावसायीहरुले न्युनतम खर्चमा किसानहरुको लागि काम गर्न र मूल्य समायोजन गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै ट्याक्टर व्यवसायी दुर्गाप्रसाद भुसालले बर्खाको समय ट्याक्टरको धेरै नै प्रयोग हुने तर डिजेलको मूल्य वृद्धिले गर्दा बाध्य भएर मूल्य वृद्धि गर्न परेको बताए । किसानहरुसँग सदैव समन्वय गर्दै काम गरिरहेको अहिले ईन्धनको मूल्य वृद्धिले व्यवसायी तथा किसानहरु मारमा परेकोले सबैलाई सहज हुने गरि मूल्य कायम गर्न तयार रहेको भुसालले बताउनुभयो ।

तेलको मूल्य आकाशिएर सबै क्षेत्रमा असर परिरहेको वर्तमान परिस्थितिमा ट्याक्टरको दररेट कायम गर्ने सन्दर्भमा कृषक , व्यावसायीबीच आपसी समझदारीमा निष्कर्ष निकाल्नु पर्ने भएकोले नगरपालिकाले समन्वयकारी भुमिका खेलेको नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताउनुभयो । देवचुली नगरका कृषकहरुका लागि नगरपालिकाले विशेष योजना बनाउने उहाँले बताउनुभयो ।

छलफल कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका सूचना प्रविधी शाखा प्रमुख तथा सूचना अधिकारी कृष्णहरि सापकोटाले गर्नुभएको थियोे ।

Write your Comment