काठमाडौँँ । सरकारले विवाह गर्न २० वर्ष पुग्नुपर्ने उमेर हदलाई घटाउने भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानून संशोधन प्रक्रिया थालिएको बताएका हुन् ।
कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानून संशोधन कार्य सुरु भएको मन्त्रीले जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त कुराको जानकारी दिएका हुन् ।
“विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ,” उनले बताए, “विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।”
कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा मन्त्री शर्माले भने, “यो कानूनमा संशोधन गर्नुपर्छ । कानून मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।”
नेपालको प्रचलित कानूनले २० वर्ष पूरा भएपछि विवाह गर्न हुने व्यवस्था छ । हाल २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।