आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

आफ्नो लागि आफै प्याड बनाउने अभियानमा कावासोतीका किशोरीहरु

    प्रकाशित २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)


देवचुली । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्यवृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनुपर्ने र यसको सर्वसुलभ उपलब्धताको लागि समेत आवाज उठ्ने गरेको छ ।
कावासोती नगरपालिकामा आफूलाई आवश्यक पर्ने प्याड आफैंले निर्माण गर्ने र आफ्नो अभिभावकलाई समेत सिकाउने अभियान प्रभावकारी बन्दै गएको छ । कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका सहजकर्ता किशोरीहरुले बिदाको दिन परेपछि आफूले सिकेर अहिले आफूले पढ्ने विद्यालय र समुदायका स्तरमा महिनावारी सरसफाई र प्याड निर्माण सिकाउँदै आएका छन् ।


आईतबार कावासोती नगरपालिका वार्ड नं १५ शेरगन्जमा तालिम प्राप्त किशोरी अभियन्ताहरुले पुन: प्रयोग योग्य प्याड बनाउने र महिनाबारिको बारेमा किशोरीहरु र अभिभावकलाई सिकाएका छन् । छात्रा विद्यार्थीहरु महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको ज्ञान र प्याड गराउन पाउँदा खुसी देखिएका थिए ।महिनावारीको बेलामा विद्यालय नआउने र विद्यालयमा महिनावारी हुँदा कक्षा छोडेर घर जाने समस्याले गर्दा उनीहरुको पढाईमा असर पुग्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइको ज्ञान नहुँदा पनि उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर लाई रोक्न यसले सहयोग गर्ने सहभागी किशोरीहरूले बताए ।


जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत ३५ जना किशोरीलाई साथी शिक्षक (peer educator) को रूपमा तालिमहरु दिएर उनीहरूको मार्फत कावासोती नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताए ।

कार्यक्रममा सहभागी कार्यपालिका सदस्य मिनाकुमारी मुसहरले यसरी समुदाय स्तरमा महिनावारी सरसफाइ र घरमा नै कपडा प्रयोग गरि प्याड गराउन सिकाएकोमा आयोजकलाई धन्यवाद दिदैँ यसको नियमित रूपमा सन्चालनको लागि पहल गर्ने बताइन् । महिला र बालिकाको लागि अत्यावश्यक वस्तुको रूपमा यसलाई लिएर वार्ड र नगरले समेत यस्तो कार्यक्रमको लागि योजना राख्ने उनले बताइन् ।

किशोरी सशक्तिकरण अभियानअन्तर्गत समुदाय तथा विद्यालयमा रहेका बाल विवाह, सानो उमेरमा नै बच्चा जन्माउने, लागू औषधको प्रयोग, अनलाईनको दुरुपयोग जस्ता समस्याहरुको पहिचान गरी ती समस्याहरु समाधानका लागि स्वयं किशोर र किशोरीहरुको सहभागितासहित अभिभावक सचेतना कार्यक्रम संचालन, बाल क्लबहरुको क्षमता अभिवृद्धि गरी अभियानहरू संचालन, जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सहभागिता अभिवृद्धिको लागि पहलहरु गर्ने जस्ता कार्यक्रमहरु रहेको बताइएको छ ।

कार्यक्रममा ३० जना किशोरीहरु र अभिभावक हरुको सहभागिता रहेको थियो । किशोरीहरु खिमा मुसहर, ओमकला बोटे र सबिना पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Write your Comment