आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

नेपाल र अमेरिकाबीचको खेल टाई

    प्रकाशित २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)


एजेन्सी – अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा टाई भएको छ ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै खेल ट्राई गराए । दुबै टोलीले खेलमा एक एक अंक बाँडेका छन् ।

अमेरिकालाई अन्तिम दुई बलमा एक रन जितको लागि चाहिँएको थियो । पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलले उत्कृष्ट क्याचका साथ २६ रनमा पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट हुँदै नेपालले नाटकीय रुपमा खेल टाई गराएको हो ।
अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी हुन् । अमेरिकाको ओडिआईमा पाँचौं शतक हो ।

कप्तान मोनांक पटेल १ सय १५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए । दोस्रो विकेटका लागि पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकाको जित पक्का गराए ।

पहिलो विकेटका लागि सुशान्त मोदानी र टेलरले ५.४ ओभरमा २६ रनको साझेदारी गरेका थिए । ओमानविरुद्ध शतकीय इनिङ खेलेका मोदानी सोमपाल कामीको बलमा १७ रनमा कट एण्ड बोल्ड आउट भए ।

त्यसपछि नेपालले दोस्रो विकेट ४२ औं ओभरको तेस्रो बलमा पटेललाई आउट गर्दै लिएको थियो । कप्तान सन्दीप लामिछानेले पटेललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै दोहोरो शतकीय साझेदारी तोडेका थिए । आदिल अन्सारीको ४४ औं ओभरको पाँचौ. बलमा ठूलो सट खेल्ने धुनमा टेलर सन्दीपबाट क्याच आउट भएका थिए ।

नेपालका लागि ओडिआई डेब्यू खेल खेलेका आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भयो । नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले ।

रोहितसँगै आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकी इनिङ खेले । रोहितको ओडिआई करिअरको पाँचौं, देव र आसिफको समान दोस्रो अर्धशतक हो ।

विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए । आसिफले ५८ बलमा पूरा गरेका थिए । पूर्ण रुपमा फिट नभएपनि आसिफले खुट्टाको चोटबाट मैदान फर्किर्दै महत्वपूर्ण अर्धशतकका साथ नेपाललाई राम्रो सुरुवात दिलाए ।

चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११।५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ग्रोइन चोटबाट फर्किएका ओपनर कुशल भुर्तेल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए । निसर्ग पटेलको बलमा कुशल स्वीप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए ।
देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच भए । देवको ओडिआई करिअरको दोस्रो अर्धशतक हो । देवले ६४ बलमा अर्धशतक प्रहार गरे । तेस्रो विकेटका लागि देव र रोहितले ६० रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र आदिल अन्सारीले ६५ रनको आक्रामक साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए ।

आदिल २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । आरिफ शेख ८ र दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए । सन्दीप लामिछाने १० रनमा आउट भए । एक समय ४३ ओभरमा २३५-३ को बलियो अवस्थामा रहँदै ३ सय रनको योगफलको सम्भावना देखाएपनि ३९ रन जोड्न ७ विकेट गुमाएपछि विशाल योगफलबाट चुकेको थियो ।

अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १/१ विकेट रह्यो ।

Write your Comment