आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा विपद् व्यवस्थापन अभ्यास

    प्रकाशित २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)


कावासोती । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गणको संयोजनमा भएको कार्यक्रममा तीन वटा घटनामा अभ्यास गरिएको थियो ।

वर्षाको समयमा बाढीमा मानिस बगाए, डुबान क्षेत्रमा मानिस घेरिए कसरी उद्धार गर्ने तथा पहिरोका घटना हुँदा त्यसमा फसेका मानिसको उद्धार तथा व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गरिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

अभ्यासले उद्धार टोलीलाई विपद्को समयमा सहज व्यवस्थापनगर्न सहयोग गर्ने साथै अन्य सरोकारवाला र सर्वसाधारणलाई समेत बाढी, पहिरोबाट कसरी मानिसलाई जोगाउन सकिन्छ भन्ने जानकारी प्राप्त हुने उहाँले बताउनुभयो ।

कावासोतीको पिठौली स्थित नारायणी नदिमा नेपाली सेना,शसस्त्र ,नेपाल प्रहरी सहितको टोलीले उद्धार तथा व्यवस्थापनको अभ्यास गरेका थिए । उद्धार संगै प्राथमिक उपचार सहित कसरी अस्पताल सम्म लैजाने भनेर नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका रेडक्रस कर्मी र मध्यविन्दु जिल्ला अस्पतालका चिकित्सकको टोलीले अभ्यास सहित जानकारी प्रदान गरेका थिए ।

मनसुन सक्रिय हुन थालेकाले जिल्ला भर बाढी ,पहिरोको जोखिम हुने हुँदा सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्नका लागि विपद् पूर्वका तयारी थालिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । जिल्लाका आठ वटै पालिकामा अति संकटासन्न, मध्यम संकटापन्न र संकटासन्न गरि तिन तहमा वर्गीकरण गरि मनसुन पूर्व तयारी र प्रतिकार योजना बनाएको उहाँले बताउनुभयो ।

‘हामिले भौगोलिक अवस्थाको विश्लेषण गरि मनसुनको समयमा हुने विपद् व्यवस्थापनको तयारी थालेका छौं, सबै पालिकासँग समन्वय गरि लागेका छौं ’प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भन्नुभयो । नेपाल सरकारबाट उद्धार ,राहतका लागि आवश्यक सामाग्री सुरक्षाकर्मीहरूलाई उपलब्ध गराउने काम गरिएको उहाँले बताउनुभयो ।

नवलपुरमा बाढी, पहिरो ,चट्याङ्गको जोखिम रहेको उहाँले बताउनुभयो । यस वर्ष नवलपुरमा बाढी ,पहिरोबाट करिब ८० हजार जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको बताउँदै यसको व्यवस्थापनमा सबै मिलेर सतर्कता अपनाई पूर्व तयारी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

गत वर्ष भन्दा यस वर्ष जोखिमको पूर्वानुमान गरिएको छ यसकारण सबै सरोकारवाला, समुदाय मिलेर पूर्व तयारी र विपद्को समयमा हुने क्षति न्यूनिकरणका लागि लाग्न आवश्यक रहेको छ’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो ।

Write your Comment