आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

राष्ट्रिय कृषि गणना कार्यक्रम : नवलपुरमा ३८ सय घरधुरीको पूर्ण लगत संकलन

    प्रकाशित २०७९ जेष्ठ २४, मंगलबार (२ साल अघि)


ज्ञानु पंगेनी , कावासोती । राष्ट्रिय कृषि गणना कार्यक्रम अन्तरगत स्थलगत कार्य सम्पन्न भएको छ । अहिले कार्यालयमा जाँचबुझको काम भइरहेको छ ।

जिल्ला कृषि गणना कार्यालय नवलपरासी पूर्वकी कार्यालय प्रमुख रेनु घिमिरेले फिल्डको काम सकेर अहिले गणक र सुपरीवेक्षक सँगै बसेर छुटफुट केही भए त्यसको जाँचबुझ गर्ने काम भइरहेको जानकारी दिनुभयो । ‘गणकले भरेको तथ्याङ्कमा केही त्रुटि छन वा केही छुटफुट भएको छ कि ? भनेर भेरिफिकेसन गर्ने काम अहिले भएको छ । जस्तै गणकले एकदमै थोरै तथ्याङ्क भ¥यो वा जुन मुख्य बाली हो त्यो नै तथ्याङ्कमा आएन यस्तै कुराको हामी क्रस चेक गर्छौँ , त्यस्तो पाइए सम्बन्धित घरधनीको नम्बरमा फोन गरेर बुझ्छौ , त्यहाँको वडा अध्यक्षसँग बुझ्छौ । अब भोलिसम्म यो काम सकिन्छ ।’ उहाँले भन्नुभयो । केन्द्रमा पठाइसकेपछि नमिल्ने भएकाले जिल्लाबाट पठाउँदा कुनै त्रुटि नहोस् भनेर जाँचबुझ गरेको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख घिमिरेका अनुसार जिल्लामा ३८ सय घरधुरीको पूर्ण लगत संकलन भएको छ ।जिल्लामा रहेको आठ वटा पालिकाको १५५ ओटा गणना क्षेत्रमा गरिएको लगत सङ्कलनका क्रममा केही पहाडी क्षेत्रमा कृषि कार्य घटेको पाइएको उहाँको भनाई छ । कावासोतीको बजार क्षेत्रमा पनि कृषि कार्य केही घटेको पाइएको उहाँले बताउनुभयो ।

‘कृषि गणनाका लागि जनगणनाको तथ्याङ्कलाई आधार मानिने भएकाले त्यसका आधारमा हेर्दा केही तलमाथि भएको छ अन्य त्यस्तो देखिएको छैन् । ’ उहाँले भन्नुभयो – ‘पहाडमा बसोबास गर्नेहरू कतिपयको बजारमा पनि बसोबास रहेछ , जनगणनाको समयमा उनीहरु त्यहाँ गएका रहेछन् तर , कृषि गणनाको समयमा त्यहाँ बसोबास नभएको पाइयो । ’
कृषि गणना कार्यको सम्पूर्ण विवरण आउन अझै केही दिने लाग्ने उहाँले बताउनुभयो । जेठ मसान्तसम्म सबै विवरण उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।

गत बैशाख ६ गतेदेखि जेठ १९ गते ४५ दिनसम्म गणकहरु घरघरमा पुगेर तथ्याङ्क संकलन गरेका हुन् । ५५ गणक र १४ जना सुपरीवेक्षक कृषि गणनाका लागि खटिएका थिए ।
नवलपुरमा आठ पालिकाहरूमा गणना क्षेत्र कावासोतीमा २४, देवचुलीमा २२ , गैँडाकोटमा २१ , मध्यबिन्दु २३ , विनयी त्रिवेणीमा २० , हुप्सेकोटमा १५ , बौदीकालीमा १३ र बुलिङटारमा १७ कायम गरिएको थियो ।

यस गणना यो पटकको सातौँ र संघीयता आएपछिको पहिलो हो । कार्यालय प्रमुख घिमिरेका अनुसार कृषि क्षेत्रको नीति निर्माण , योजना तर्जुमा , कार्यान्वयन , अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू प्राप्त गर्ने उद्देश्यका साथ कृषि गणना कार्य २०१८ सालदेखि १० – १० वर्षको अन्तरालमा केन्द्रिय तथ्याङ्क विभागले गर्दै आइरहेको छ ।

Write your Comment