आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बौदीकाली गाउँपालिकाको निर्णय : प्राविधिक शिक्षा, एम्बुलेन्स खरिद देखी सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने

    प्रकाशित २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)


नवलपुर । नवलपुरको विकट पहाडी क्षेत्रका रुपमा रहेको बौदीकाली गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले प्राविधिक शिक्षा, सुरक्षित प्रसुति सेवा ,एम्बुलेन्स खरिद देखी सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरेका छन् । गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित अध्यक्ष प्रकाश ओझाले प्राविधिक शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिँदै निर्णय गर्नुभएको छ ।

आफ्नो घोषणापत्रमा समेत शिक्षाको गुणस्तर वृद्धिमा जोड दिनुभएका अध्यक्ष ओझाले पहिलो निर्णयबाट प्रत्यक वडामा ७ जनाका दरले प्रति व्यक्ति प्राविधिक शिक्षा अध्ययनका लागि ५ हजार मासिक छात्रवृति उपलब्ध गराउने निर्णय गर्नुभएको छ । शिक्षा नै विकासको पहिलो आधारका रुपमा मानेर यसलाई प्राथमिकता दिएर निर्णय गरिएको अध्यक्ष ओझाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका भित्रका सबै वडा विपन्न र जेहेन्ददार विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा आकर्षित गर्नको लागि प्रति वडा ७ जनाको दरले प्रति व्यक्ति ५ हजार मासिक छात्रवृति उपलब्ध गराइनेछ ।

यसै गरि सुरक्षित प्रसूति सेवालाई जोड दिँदै बौदीकालीबासी महिलालाई सुरक्षित प्रसुती सेवा गाउँपालिका भित्रको बर्थीङ सेन्टरमा उपलब्ध हुन नसकी रिफर गर्नुपरेमा प्रति महिला १० हजारको दरले सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।
यसै गरि जुनसुकै अस्पतालमा उपचाररत व्यक्तिको जीवन रक्षार्थ रगत तथा रक्त तत्व निशुल्क र सहज उपलब्धता कायम गर्न गाउँपालिकाबाट अनुदान उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।
गाउँपालिकामा एउटा एम्बुलेन्स खरिद गर्ने र पालिका भित्रका सबै सरकारी, सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षण गर्ने निर्णय गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।

Write your Comment