आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको मेयरको उम्मेदवार हुन उपसचिवबाट राजीनामा

    प्रकाशित २०७९ बैशाख ९, शुक्रबार (२ साल अघि)


नवलपुर । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए ।

‘देवचुलीका सबै साथीहरूको आग्रहअनुसार राजीनामा दिएर जिल्ला हिँडें‚’ भुसालले भने‚ ‘देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने छु । मेरो करिब २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीको काँचुली फेर्न इमान्दार प्रयास गर्ने छु ।’

देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनी कुशल प्रशासक र राम्रो छवि भएका मानिन्छन् । स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको सुनाए । उनलाई जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र अर्का नेता डा. शशांक कोइरालाले राजनीतिमा आउन ग्रिन सिग्लन दिएका कारण राजनीतिमा होमिएको गाउँमा चर्चा छ ।

देवचुली नगरपालिकामा यसअघिको निर्वाचनमा पनि मेयरसहित बहुमत कांग्रेसले जितेको हो । ५५ सालअघि उनी साविकको देवचुली गाउँ कमिटीको कांग्रेस सभापति थिए । पछि लोकसेवा पास गरेर निजामतीमा प्रवेश गरेका थिए ।

Write your Comment