आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

टाईफाईडबाट जोगाउन बालबालिकालाई खोपः नवलपुरमा अभिमुखीकरण

    प्रकाशित २०७८ चैत्र २२, मंगलबार (२ साल अघि)


खगेन्द्र पराजुली,नवलपुर।टाईफाईड रोग विरुद्धको खोप अभियानको पूर्व तयारीका सम्बन्धमा नवलपुरमा अभिमुखीकरण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आज कावासोतीमा पत्रकार लक्षित अभिमुखीकरण गरेको हो ।

जिल्लाका करीव ८५ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाउन ३ सय ८८ बिद्यालयमध्ये २ सय ५० विद्यालयमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
१५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाका लागि सञ्चालन हुने खोप अभियानमा स्वास्थ्यकर्मी, विद्यालयका शिक्षिका सहित ७ सय स्वयंसेवक खटाईएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।
जिल्लाका आठ वटै पालिकामा यही चैत्र २४ गतेदेखि शुरु गरेर चैत्र मसान्तसम्म खोप लगाएर सक्ने लक्ष्य लिएको स्वास्थ्य कार्यालय नवलपुरमार्फत सवै पालिकाको स्वास्थ्य शाखामा तथ्याङ्क बमोजिमको खोप पठाईसकिएको र खोप अभियानलाई लक्षित उमेरका सवै बालबालिकालाई सहभागी गराउने उदेश्यले वडा तथा विद्यालय तहमै सम्वन्धित पालिकाका स्वास्थ्य संस्थाका प्रमुख–उपप्रमुख सहितको टोलीबाट समेत अभिमुखीकरण भईराखेको जनाईएको छ ।
नेपालमा टाईफाईडबाट बिरामी भई अस्पताल भर्ना हुने चौथो ठूलो रोगका रुपमा रहेकाले रोग नियन्त्रण, निवारण र उन्मूलन गर्ने उदेश्यका साथ अभियान सञ्चालन भएकाले तोकिएका उमेरसमूहका बालबालिकालाई खोप अभियानमा सहभागी गराउन अपिल गरिएको छ । देशैभर सञ्चालन हुने यो अभियान बैशाख १८ गतेसम्म चल्ने भएपनि नजिकिदो चुनावी अभियान, एसईई तथा विद्यालयमा चल्ने बार्षिक परीक्षा, कोभिड विरुद्ध हुने खोप अभियान लगायत प्रभावित नहुने गरि नवलपुरमा चैत्र मसान्तभित्रै अभियान सम्पन्न गर्न लागिएको हो ।
टाईफाईड रोग जुनसुकै उमेरका मानिसलाई हुने भएपनि १५ बर्षसम्मका बालबालिकामा रोगको जोखिम सवैभन्दा धेरै हुने भएकाले बालबालिकाले लिने खोपको सूचीमा थपिएकाले अभियानपछि नियमित खोपका रुपमा १५ महिनाको बच्चालाई दादुरा, रुवेलाको दोस्रो मात्रासँगै टाईफाईड रोग बिरुद्धको खोप दिईनेछ ।

Write your Comment