आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

विनयी त्रिवेणीमा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ चैत्र ११, शुक्रबार (२ साल अघि)


नवलपुर। नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नंं १ र २ का सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक विनयी त्रिवेणी गाउँपालिकाका कानुनि सल्लाहकार अधिवक्ता गणेश अधिकारीले मानव अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । नेपालले हस्ताक्षर गरेका विभिन्न अन्तराष्ट्रिय महासन्धि तथा सन्धिहरुको कार्यान्वयन गर्दै मानव अधिकार प्राप्त गरेको अनुभूति आम नागरिकले गर्न पाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले कार्यक्रममा नेपालले हस्ताक्षर गरेका विभिन्न अन्तराष्ट्रिय महासन्धि तथा सन्धिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै कार्यक्रममा इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नागरिक तथा राजनितिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको बारेमा सहजिकरण गर्नु भएको थियो । यस्तै उहाँले नेपालको संविधान २०७२ मा मौलिक हकको रुपमा व्यवस्था गरिएका अधिकारहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । यस्तै उहाँले नवलपरासी पूर्व नवलपुरमा मानव अधिकार सवालहरु के के छन् भन्ने विषयमा सहभागीहरुसंग छलफल तथा सहजिकरण गर्नु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा यस अगाडी उद्घाटन शत्रमा बोल्दै विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रानाले मानव अधिकारको विषयमा इन्सेकले गाउँपालिकामा निरन्तर पैरवी गरिरहेको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो । गाउँपालिका मार्फत बालबालिका, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, लक्षित समुदायहरुको लागि बजेट विनियोजन गरेर उनिहरुको अधिकार प्रत्याभूति गराउन निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बि.क.ले मानव अधिकारको विषय व्यापक र संवेदनशिल रहेको भन्दै समय र बिकासक्रम सगै यसको दायरा बढ्दै गएको बताउनुभयो । मानव मानवबीचको बिभेद, असमानता जस्ता सवालमा धेरै सुधारहरु भएको देखिएपनि अझै पनि मुलभूत रुपमा त्यसको निराकरण हुन नसकेको उहाँले बताउनुभयो ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु ढकालले संविधानले दिएको अधिकार प्रयोग संगै नागरिकहरु आफ्नो दायित्वको बारेमा पनि सजक बन्न आवश्यक रहेको बताउनु भएको थियो । सबैको साँझा प्रयत्नबाट नै समाजमा विद्यामान बाल विवाह, छुवाछुत, महिला हिंसा, विभेदको अन्त्य हुन सक्ने भन्दै उहाँले स्थानीय सरकार सदैव अधिकारको प्रत्यायोजन गर्ने विषयमा गम्भीर रहेको बताउनु भएको थियो ।

कार्यक्रममा मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्म बहादुर जि.सी.ले गाउँपालिकामा मानव अधिकार समूह गठन भएर मानव अधिकार रक्षा र त्यसका सवालहरुमा पैरवी गरिरहेको भन्दै स्थानीय सरकारले मानव अधिकार सम्बन्धि अभिमुखिकरणको लागि सहयोग र इन्सेकले आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका सुचना अधिकारी कृष्ण अर्याल, विनयी त्रिवेणी गाउँकार्यपालिका सदस्य रुपा दर्जी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण इन्सेक नवलपुर सहजकर्ता गंगा विश्वकर्माले गर्नुभएको थियो ।

Write your Comment