आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : ओली

    प्रकाशित २०७८ चैत्र ५, शनिबार (२ साल अघि)


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दाबी गरे ।
कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताइसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क छ । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अवको निर्वाचन पछि समाप्त हुने बताए ।
‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन । बूढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईंहरु । बूढाबूढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षड्यन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए ।

Write your Comment