आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

बाल अधिकार सुनिश्चित हुनुपर्छ– उपसभामुख सिर्जना शर्मा

    प्रकाशित २०७८ पौष १९, सोमबार (२ साल अघि)


लमजुङ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले भविष्यका कर्णाधार बालबालिकाका नैसर्गिक हक अधिकारहरु सुनिश्चित हुनु पर्ने बताएकी छन् ।

लमजुङ जिल्ला वेशिसहर नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्दै उनले बाल अधिकार सुनिश्चित हुनु पर्ने आवश्यकता औल्याइन् । गण्डकी प्रदेशले हालसम्म ५६ वटा कानून निर्माण गरेको बताउँदै उनले निकट भविष्यमा नै बालमैत्री कानून निर्माण गर्ने तयारीमा रहेको समेत जानकारी दिइन् ।भूर्ण हत्या गर्ने र गराउने प्रवृत्तिको सदाका लागि अन्त्य हुनु पर्नेमा जोड दिंदै उनले भनिन्, ‘त्यसका लागि तीनै तहका सरकार, अभिभावक लगायत सम्वद्ध निकायको ध्यान पुग्नु जरुरी छ ।’

कार्यक्रममा संविधान सभा सदस्य टुका हमालले अभिभावक एवम् विद्यालय र सिंङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने बताउँदै बच्चा गर्भमा रहेदेखिनै सुरक्षित हुनु पर्नेमा जोड दिइन् ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ वटा बालमैत्री सुचक पुरा गरेको आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिंदै यसको निरन्तरताको लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास समेत व्यक्त गरे । उक्त वडा सहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका वडा नं. १, वेशिसहर नगरपालिका वडा नं. १ बालमैत्री वडा घोषणा भई सकेका छन् ।

वेशिसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाच्न पाउने, संरक्षण, विकास एवम् सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बाल अधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरि कार्यान्वयनमा ल्याएको जानकारी दिए । वडा कार्यालयद्धारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचान गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पुर्‍याउने विद्यालयका छात्रछात्रा, आमा समुह सहित विभिन्न संघसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं. ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामिण सामुदायिक विकास केन्द्र (आरसीडीसी) जिल्ला अध्यक्ष पद्मा गुरुङ, गंगा मिलन माविका प्रअ टंकबहादुर अधिकारी लगायतको समेत उपस्थिती रहेको थियो र बक्ताहरुले बिशेषगरी बालबालिकाको शारिरीक एवम् मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, बातावरणमैत्री भौतिक संरचना लगायतमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

Write your Comment