आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

घरभित्र फेला परेको अबैध रुपैयाँ गन्‍न लाग्यो ३६ घण्टा ।

    प्रकाशित २०७८ पौष १३, मंगलबार (२ साल अघि)


काठमाण्डौ । भारत कानपुरका एक अत्तर व्यवसायी पियुश जैनले विभिन्न स्थानमा लुकाएर राखेको झण्डै २ अर्ब ८४ करोड भारु बरामद भएको छ । कर छलीको आरोपमा आइतबार पक्राउ परेका पियुश हाल हिरासतमा छन् ।

उनको घर, फ्याक्ट्री, कार्यालय, कोल्ड स्टोर र पेट्रोल पम्पमा छापा मार्दा प्रहरीले ठूलो मात्रामा रकम बरामद गरेको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार पियुशको घरभित्र फेला परेको एक अर्ब ७७ करोड रुपैयाँ मेसिनमा गन्‍न पनि झण्डै ३६ घण्टा लागेको थियो ।
पियुशले लुकाएर राखेको कयौं किलो सुनचादी समेत प्रहरीले बरामद गरेको छ ।

घरभित्र करोडौं रकम लुकाएका पियुशले स्कुटर र पुराना कार चढ्ने गरेको पाइएको छ । उनको घर बाहिर पार्किङ गरेर राखेको अवस्थामा एउटा टोयटा क्वालिस र अर्को मारुती गरी २ वटा कार भेटिएका छन् ।

स्थानीयका अनुसार पियुशले कनौजस्थित पैतृक घरमा जाँदा बजाजको प्रिया स्कुटर चढ्ने गर्थे । उनले निकै सामान्य जीवन बिताउने गरेको स्थानीयको भनाइ छ । आफूसँग करोडौं सम्पत्ति रहेको कुरा थाहा नहोस् वा कसैले शंका नगरून् भनेर उनले महँगा कारको साटो पुराना सवारी साधन प्रयोग गर्थे ।

उनले १५ वर्षीय छोराको नाममा टोयटा कार किनेको पनि समाचारमा उल्लेख छ ।

समाचारअनुसार पियुशले आफ्नो घरमा कुनै कामदार राखेका थिएनन् । उनले हरेक वर्ष सुरक्षागार्ड फेर्ने गर्थे । आनन्दपुरीस्थित आफ्नो आलिसान घरमा साढे सात हजार भारु दिएर २ जना सुरक्षा गार्ड राखेका थिए । तर सुरक्षागार्डलाई घरभित्र जाने अनुमति थिएन ।

बीस वर्षको अवधिमै अर्बपति बनेका पियुशले आफ्ना बाबुबाट अत्तर बनाउने कला सिकेका थिए । सुरुमा कानपुरबाट अत्तर व्यवसाय सुरु गरेका उनको व्यवसाय मुम्बई र गुजरातसहित भारतका अन्य स्थानमा समेत विस्तार गरेका थिए ।

Write your Comment