आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वैदेशिक रोजगारी : समुदाय देख्छ महिला दोषी तर तथ्याङ्कमा पुरुष बढी

    प्रकाशित २०७८ पौष ३, शनिबार (२ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । वैदेशिक रोगजारीसंग जोडिएका परिवारका महिलाहरुमाथी लगाईने लान्छनाले एउटा सुन्दर घररिवार नै भत्ताभुङ्ग हुने अवस्था निम्त्याईरहेकाले सरोकारवालाहरुले यस विषयमा गम्भिर भएर काम गर्न आवश्यक रहको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भमा हिकोडेफद्धारा सञ्चालित सुरक्षित आप्रवास परियोजना ( सामी ) परियोजनाले शुक्रबार कावासोतीमा आयोजना गरेको वैदेशिक रोजगारको सामाजिक असर सम्बन्धमा अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिनुभएको थियो । पछिल्लो केहि वर्षयता विदेशमा रोजगारीका लागि गएका पुरुषका श्रीमतीहरुलाई अनेकथरी लान्छना लगाएर समुदायमा सहज रुपमा जिवनयापन गर्ने वातावरणबाट बञ्चित गराउने सम्मका घटनाहरु हुने गरेकाले यस्ता गलत कार्य र गलत मानसिकतालाई चिर्नका लागि सचेतनासंगै दोषीलाई कडा कारवाही गर्न सकेमा मात्रै न्यूनीकरण हुन सक्ने सरोकारवालाहरुले औल्याउनुभएको छ ।
स्थानीय तहका मेलमिलापकर्ता , वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका अभियान्ता , संचारकर्मी लगायतले वैदेशिक रोजगारीका कारण समुदायमा देखिएका सामाजिक असरका बारेमा जानकारी गराउनुभएको थियो ।
विषेश गरि विदेशमा श्रीमान भएका श्रीमतीहरुलाई ,विदेशमा श्रीमानले कमाउने नेपालमा श्रीमती रमाउने , अर्कै परपुरुषसंग रमाउने , राम्रो लाउने खाने , जोसंग पनि हास्ने बोल्ने , हिड्ने डुल्ने र रमाईलो गर्ने , काम नगर्ने लगायतका अनेकथरि लान्छना लगाएर समुदायमा नराम्रो बनाउने , विदेशमा रहेका श्रीमानलाई समेत हुदै नभएका कुरा लगाएर सम्बन्ध नै बिगार्ने जस्ता काम हुने गरेको जानकारी गराउनुभयो । विदेशमा रोजगारीका लागि पुगेका महिलाहरु सबै विदेशमा हिंसा र शोषणमा पर्छन ,विदेश गएका सबै महिला नराम्रा हुन भन्ने सोँच समुदायमा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा आफ्नो प्रस्तुतीकरण राख्दै सुरक्षित आप्रवास परियोजना ( सामी ) परियोजनाका कार्यक्रम संयोजक ऋतुराम सोतीले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर सम्बन्धमा जानकारी गराउँदै समुदायमा राम्रो भन्दा नराम्रो कुरा छिटो फैलने हुँदा त्यसको असर पनि छिट्टै देखिने , जस्तै श्रीमान श्रीमतीको सम्बन्ध विग्रने, मानसिक समस्या सृजना हुने, आत्महत्या गर्ने , घरेलु हिंसा हुने , छोराछोरीलाई मानसिक असर पर्ने , पढाईमा असर पर्ने लगायतका सामाजिक असरले अन्त्यमा एउटा सुन्दर परिवार नै लथालिङ्ग हुने हुँदा यस सिकिमको लान्छना लगाउनु अघि जोकोहिले पनि गम्भिर भएर सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरु धेरै परपुरुषसंग लाग्छन , भन्ने कुरा आएपछि सामीले नवलपरासी सहित देशका विभिन्न जिल्लामा गरेको सर्वेक्षणमा त्यसको ठिक उल्टो परिणाम आएको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार वैदेशिक रोजगारीमा गएका ८ हजार ९ सय ३३ घरधुरीमा गरेको एउटा आन्तरिक सर्भेक्षणले देखाएअनुसार महिला वैदेशिक रोजगारीमा गएका घरधुरीबाट ३६% पुरुषले दोस्रो विवाह गरेको र पुरुष वैदेशिक रोजगारीमा गएका घरबाट २% महिलाले मात्र दोस्रो विवाह गरेको तथ्याङ्क आएको थियो । यसरी तथ्यले समेत महिलाहरु बढि हिंसा र लान्छनामा पर्छन भन्ने कुरा पुष्टि गरे पनि समाजमा व्याप्त पितृसतात्मक सोँच र महिलामाथी हुँदै आएको थिचोमिचोका कारण समाजले महिलालाई नै बढि दोषि देख्ने प्रवितीले प्रसय पाएको उहाँको भनाई थियो । विदेशमा श्रीमानले कमाईरहदा घरमा सबै कुरा धानेर ,बालबच्चा स्याहारेर , विदेशबाट आएको कमाईलाई व्यवस्थापन गर्नेक्रममा महिलालाई बाहिर हिडडुल गर्न , परपुरुषसंग हास्न बोल्न पर्ने तर , समाजले त्यसै कुरालाई नकारात्मक रुपमा टिकाटिप्पणी गरेर फैलाउने काम गर्दा महिलाहरुमाथी बढि असर परेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख चेसराम आलेले कार्यक्रममा बोल्दै महिला पुरुष जोसलाई समस्या परे पनि समान ढंगले व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । यस्ता घटनाहरु बृद्धि हुँदै जादा घरपरिवार , समुदाय र देशलाई नै असर पर्ने हुँदा यस्ता कृयाकलाप बिरुद्ध सरोकारवाला र सामुदायका अगुवाहरुले सकारात्मक पक्षलाई जोड दिदै सचेतना जगाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्तीले वैदेशिक रोगारीका सन्दर्भमा कतिपय केश शंकै शंकामा ठूलो हुने गरेको समेत पाइएकाले एक अर्कामा विश्वास कायम गर्न सक्नु नै महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले कुनै पनि कुरालाई सुनेकै भरमा विश्वास नगर्न आग्रह गर्दै तथ्यसम्म पुगेर मात्रै टिकाटिप्णी गर्नु उचित हुनेमा जोड दिनुभयो । वैदेशिक रोजगारीका सन्दर्भमा महिलाहरुले गरेका साना गल्तीलाई पनि ठूलो ईस्युका रुपमा बाहिर उजागर गर्ने तर, पुरुषले गरेका ठूला गल्ती पनि ढाकछोप गर्ने परिपाटी समुदायमा हुँदा महिलाहरु बढि पीडित बन्नुपरेको , महिलाहरुले बढि लान्छना भोग्नु परेको उहाँले बताउनुभयो ।
यस्तै शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले वैदेशिक रोजगारीबाट सृजित सामाजिक असर भनेको सबैभन्दा बढि घरेलु हिंसा त्यसमा पनि महिला बालबालिका र जेष्ठ नागरिक बढि असरमा परेकाले यस्ता समस्यालाई समाधान गर्न शैक्षिक जागरण आवश्यक रहेकोमा जोड दिनुभयो । हिंसामा परेपछि कहाँ जाने भन्ने जानकारी नहुँदा पनि कतिपय न्याय पाउनबाट बञ्चित हुनुपरेकाले यस्ता जागरण ल्याउन सम्बन्धीत निकायले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेले सामी परियोजनाले महिला पुरुष सबैको समस्यामा काम गरिराखेको बताउनुभयो । सामीमा आउने केशहरु पुरुषहरुको तुलनामा महिलाहरुका नै बढि हुने भएकाले अलि बढि महिला लक्षित कार्यक्रम हुने गरेको बताउनुभयो । समुदायमा महिलाहरुमाथी तुलनात्मक रुपमा बढि हिंसा हुने र लान्छना लगाईने भएकाले पनि महिलाका कुरा बढि आउने उहाँको भनाई थियो । परियोजनाले जिल्लाको कावासोती , गैडाकोट , मध्यविन्दु नगरपालिका नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकासंगको समन्वयमा काम गरिराखेको भएपनि वैदेशिक रोजगारीका विभिन्न केशहरु सबै आठ वटै स्थानीय तह र जिल्ला बाहिरबाट आएका केशमा समेत काम गर्दै आएको बताउनुभयो ।
यसैबीच सोही कार्यक्रमका बीचमा वैदेशिक रोजगारीमा समस्यामा परेका कामदारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो । जिल्लाको कावासोती , गैडाकोट नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाका १० जना बालबालिकाहरुलाई कापि कलम , झोला लगायतका सामाग्री वितरण गरिएको थियो । जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख चेसराम आले , कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन , कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्ती , शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले विद्यार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख चेसराम आलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आप्रवासी कामदार हकहित मञ्च नवलपुरका अध्यक्ष युवलाल तिवारीले स्वागत गर्नुभएको थियो भने , परियोजनाकी परामर्शदाता रञ्जना लम्सालले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment