आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरलाई

    प्रकाशित २०७८ मंसिर २६, आईतबार (२ साल अघि)


राजु चापागाई, देवचुली। देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले जितेको छ ।

देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिता अन्तर्गत सेन्ट्रल कलेज २८ बिगाहा र अभिषेक चर्च रजहरबीच भएको फाइनल खेलमा अभिषेक चर्च रजहर २-१ गोल अन्तरले विजयी भएको हो ।शनिबार भएको फाइनल खेलमा अभिषेक चर्च रजहरका तर्फबाट योमीले १ गोल र सेन्ट्रल कलेज २८ बिगाहाका सुदीप तामाङले वोन गोल गरेका थिए भने सेन्ट्रल कलेज २८ बिगाहाका तर्फबाट नवीन महतोले गोल गरेका थिए ।

जितसँगै अभिषेक चर्च रजहरले नगद रु १ लाख २१ हजार,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गरेको छ भने उप विजेता सेन्ट्रल कलेज २८ बिगाहाले नगद रु ७५ हजार,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै सेमिफाइनलबाट बाहिरिने प्रगतिकला मन्दिर युवा क्लब र बरटाँडी युवा क्लबले नगद रु ११ हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक अभिषेक चर्च रजहरका अजित गुरुङ,सर्वोत्कृष्ट खेलाडी सेन्ट्रल कलेज २८ बिगाहाका सुनिल श्रेष्ठ र सर्वाधिक गोलकर्ता अभिषेक चर्च रजहरका योमी भएका थिए । सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई मेडल, प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता, उप विजेता तथा सर्वोकृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिका वडा न १० का अध्यक्ष केशर आलेले पुरस्कार प्रदान गरेका थिए । मंसिर ११ गतेदेखी संचालित प्रतियोगितामा १६ टिमहरुको सहभागिता रहेको थियो ।

शान्तिदिप युवा क्लबका अध्यक्ष अमर घर्ती मगरको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा देवचुली नगरपालिका वडा न १० का अध्यक्ष केशर आलेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन,नगर खेलकुद विकास समितिका अध्यक्ष भीमलाल तिवारी ,विभिन्न वडाका अध्यक्षहरु, वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । समापन समारोहको सहजीकरण क्लबका सचीव डण्डापानी न्यौपानेले गरेका थिए ।

Write your Comment