आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नवलपुरको प्रगतिनगर खानेपानी संस्था देशकै नमुना खानेपानी : प्रदेश सभा सदस्य गाहा

    प्रकाशित २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै नमुना खानेपानी संस्था भएको गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति रोशन बहादुर गाहाले बताउनुभएको छ । सोमबार प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ४ कोठे भवन र ३०० घनमिटर क्षमताको पानी ट्यांकी समुद्घाटन समारोहमा उहाँले बताउनुभएको हो ।


अन्य जिल्लामा रहेका खानेपानी संस्थासहित संघीय खानेपानीका व्यक्तिहरुलाई नमुना खानेपानी हेर्नका निम्ति नेपाल सरकारले नवलपुर जिल्लाको प्रगतिनगर खानेपानी संस्थालाई अंकित गरेकोले पनि प्रगतिनगर खानेपानी संस्था देशकै नमूना खानेपानी भएको गाहाले बताउनुभयो ।गण्डकी प्रदेशको तत्कालिन सरकारले एउटा लक्ष्य र योजना सहित खानेपानी आधारभुत योजना हो, यसलाई समयमै उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित गण्डकी प्रदेश उज्यालो प्रदेशको रुपमा तथा गण्डकी प्रदेशमा रहेका उपभोक्तालाई“एक घर एक धारा” को अवधारणा अनुसार योजनाहरु तय गरेको जानकारी गराउँदै देवचुली नगरपालिकाका अन्य खानेपानी संस्थाका उपभोक्ताहरुलाई सहज रुपमा पानी पिउने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग पहल गर्ने उहाँले बताउनुभयो ।


प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली नगरपालिकामा उदाहरणीय भएको भन्दै आफ्नै नगरपालिकाको खानेपानी संस्थाको अवलोकनका लागि गर्न अन्य खानेपानी संस्थाहरुबाट अतिथिहरु आउनु गौरवको कुरा भएको देवचुली नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । उहाँले उपभोक्ताहरुलाई चौबिसै घण्टा स्वच्छ र शुद्ध पानी दिईरहेकोमा प्रगतिनगर खानेपानी संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । देवचुली नगरपालिकामा रहेका अन्य ८ वटा खानेपानी स्तरोन्नतिको लागि समेत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिली काम गरिरहेको उप प्रमुखले बताउनुभयो ।


तीन वर्षको कार्यकालमा भौतिक संरचनासँगै प्रशासनीक सुधार गरेको प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । सम्पुर्ण अभिलेख व्यवस्थापन, डकुमेन्टेसन , रिपोर्टहरुलाई सम्बन्धित कार्यालयमा बुझाउने, पठाउने जस्ता कामहरु सहित प्रशासनमा आमूल परिवर्तन गरिएको साथै संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै अपवाद बाहेक चौबीसै घण्टा उपभोक्ताहरुलाई पानी उपलब्ध गराएको उहाँले बताउनुभयो । प्रविधिको प्रयोग,प्रशासनिक गतिविधि, भौतिक पुर्वाधार, पानीको वितरण,पानीको गुणस्तर र अभिलेख व्यवस्थित गर्ने नेपालको पहिलो खानेपानी संस्था भएको भुसालले दाबी गर्नुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति रोशन बहादुर गाहाले ४ कोठे पानी परीक्षण प्रयोगशाला भवन र ३०० घन.मिटर क्षमताको पानी ट्यांकीको रिबन काटेर तथा शिलालेख अनावरण गरेर समुद्घाटन गर्नुभएको थियो ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको आर्थिक अनुदान र आन्तरिक स्रोतबाट निर्मित ४ कोठे भवनका लागि ५७ लाख ९६ हजार ९ सय ३२ रुपैंया र ३०० घन.मिटर क्षमताको खानेपानी ट्यांकीको ६७ लाख ४३ हजार ७ सय ५५ रुपैंया लागतमा निर्माण सम्पन्न भएको संस्थाका सचिव ईन्द्रमणी भुसालले जानकारी दिनुभयो । ३०० घनमिटर क्षमताको पानी ट्यांकी २०७७ असार १ गते संस्थाका अध्यक्ष खिमानन्द भुसालले शिलान्यास गर्नुभएको थियो भने ४ कोठे भवनको शिलान्यास २०७७ पौष १६ गते देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो।


प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता साथै देवचुली नगरपालिकाको उप प्रमुख पार्वती तिवारीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न खानेपानी संस्थाका अध्यक्ष/प्रतिनिधि , समाजसेवि, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा संस्थाका उपाध्यक्ष रुकमागत भुसालले स्वागत मन्तव्य तथा कार्यक्रमको सहजीकरण संस्थाका सचिव इन्द्रमणी भुसालले गर्नुभएको थियो ।

Write your Comment